चन्द्रपुर,७ असार । अत्याधिक गर्मीले जिल्लाको उत्तरी भेगका ट्युवेल तथा बोरिङमा पानी आउन छाडेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिकाको चुरे फेदीका गांउमा रहेका ट्युवेल तथा बोरिङबाट पानी आउन छाडेको स्थानीयले बताएका छन् । चन्द्रपुर नगरपालिका वडानं ४ को कप्तान टोलमै रहेका पानी तान्ने बोरिङ र ट्युवेलाबट पानी आउन छाडेको स्थानीय बासिन्दा प्रलाद गौतमले बताए ।
चन्द्रपुर नगरपालिको जुडिबेला,गैडाटार,भोलनटार,पौराई लगाएतका स्थानमा पानीको मुहाननै सुक्दै जान थालेको र घरमा रहेको ट्युवेलबाट समेत पानी आउन छाडेको पौराइका स्थानीय बासिन्दा श्रीराम न्यौपानेले बताए । समयमा पानी नपरेका कारण धारा सुक्न थालेको स्थानीयको भनाइ रहेको छ । बढदो चुरे बिनास तथा चुरे दोहनका कारण समेत चुरे फेदीका बस्तिमा गर्मीयाममा खाने पानीको समस्या हुदै आएको डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत अरुण कर्णको भनाइ रहेको छ । चुरे बिनासको असरका कारण समेत तराइका फाटमा हालिएका ट्युबेलमा पानी नआउनुनै प्रमुख कारण भएको कर्णको भनाइ रहेको छ । यता चन्द्रपुर–३ मा गर्मीकै कारण सिंचाइ पानीका मुहान सुक्न थालेपछि गैँडाटारका किसान मर्कामा परेका छन् । असार महीना लागिसक्दा पनि सिचाइ हुदै आएको स्थानीयवासी चाँदीखोला र डुमजोर खोलामा पानी सुकेपछि समस्या भएको हो । असार–साउनमा लगाउदै आएको धानको ब्याड सुक्न थालेपछि किसानले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागिपरेको स्थानीयले बताएका छन् । रौतहटका किसानले हरेक वर्ष हिले धानको ब्याड राख्दै आएका थिए तर यसपालि भने पानीकै समस्याले सबै किसानले धुले ब्याड राखेको र उक्त बीउसमेत जोगाउन हम्मेहम्मे परेको अर्का किसान मानध्वज लामाले बताए । त्यसैगरी वाग्मती सिचाइ आयोजनाले नहरमा पानी छोडेपछि धानका बीउ सुकेको स्थानीय किसानलाई भने राहत भएको छ । गर्मी बढेपछि अन्नबालीको उत्पादन गर्न नपाउदा निराश भएका किसानलाई सिंचाइ आयोजनाले नहरमा पानी छोडेपछि हर्षित भएका छन् ।