गरुडा,८ असार
रौतहटको गरुडा स्थित इलाका प्रहरी कार्यालयका एक प्रहरीले मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोप लागेको छ । सडक दुर्घटना पछि हिरासतमा लिइएका टिपर चालकलाई छुटाउन मुद्दा फाटमा कार्यरत हवल्दार परमेश्वर केशरीले २० हजार रुपैया घुस मागेको उक्त टिपर धनीले बताएका छन । जेठ ११ गते गरुडा बाट चन्द्रनिगाहपुर आउदै गरेको ना ७ ख ३८३७ नम्बरको टीपरले कमलपट्टी नजिकै ठक्कर दिदा बालिका सकुन्तला पासवानको मृत्यु भएको थियो । सोही घटनामा प्रहरी हिरासतमा रहेका चालकको मुद्दा कमजोर पारेर चालकलाई छुटाउने र प्रहरी नियन्त्रणमा रहेको टिपर छाड्ने भन्दै उनले घुस मागेका हुन । प्रहरी हवल्दार केशरीले आफ्नो मोबाइल नम्बर ९८५५०९०९०२ बाट टिपर धनी ९८१३७६०९०० को मोबाइलमा एस एम एस गरेर ३० हजार लिएर इलाका प्रहरी कार्यालयमा आउन म्यासेज पठाएका थिए । गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काको कार्यकक्षमा हवल्दार केशरीले २० हजार रकम आफूसंग लिएको टिपरधनीले बताएका छन । उक्त घटनाको बारेमा अनुसन्धान टोली गठन गरेको रौतहट प्रहरीका प्रवक्ता डिएसपी नविन कार्कीले बताए । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसी अर्यालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको र सो समितिको प्रतिवेदन पश्चात दोषी देखिएमा हदै सम्मको कारवाही हुने डिएसपी कार्कीले बताए ।