रेणुका जिसी खतिवडा
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षामा कुल चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी भएका थिए । जसमा तीन लाख २५ हजार तीन सय ३० बिद्यार्थी सामुदायिक बिद्यालयबाट र एक लाख ३३ हजार नौ सय ४५ बिद्यार्थी संस्थागत विद्यालयबाट सहभागी भएका थिए । सहभागिताका हिसाबले सामुदायिक बिद्यालय अगाडि देखियो तर नतिजा ?
ग्रेडिङ प्रणालीमा प्रकाशित यस वर्षको नतिजामा पनि संस्थागत विद्यालय अब्बल ठहरिए भने सामुदायिक विद्यालय निरीह । नतिजाअनुसार १७ हजार पाँच सय ८० परीक्षार्थीले जिपिए ३.६ भन्दा माथि ल्याएका छन । जसमा सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ विद्यार्थीले मात्रै ३.६ भन्दा माथि जिपिए ल्याएका छन, भने संस्थागत विद्यालयका १४ हजार सात सय ८८ जना विद्यार्थीले ३स्६ भन्दा माथि जिपिए ल्याएका छन् । त्यस्तै २.८५ भन्दा माथि जिपिए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत विद्यालयको तुलनामा न्यून छन् । २.८५ भन्दा कम जिपिए ल्याउने परीक्षार्थीमा सामुदायिक विद्यालयका विद्यार्थी बढी छन् ।
यसरी हेर्दा विगतका वर्ष हरुमा झैँ यस वर्ष पनि सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ । कमजोर नतिजा सँगै सामाजिक संजाल भरी अनेक व्याख्या र विश्लेषण सुरु हुनु जायज हो तर सामुदायिक विद्यालयका शिक्षकलाई मात्र कारण देखाएर गरेका कतिपय विश्लेषण सतही बुझाई मात्र हुन । यस्तै सतही र नकारात्मक बौद्धिकताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर झन खस्कदैँ गएको छ सामुदायिक विद्यालयको कुरा गर्दा स्वभाविक रुपमा सबैको ध्यान कार्यरत शिक्षकमा पुग्छ । शिक्षकले पढाएनन ,राजनीति गरे, आफ्नो काम मात्र गरे विद्यार्थी र विद्यालयको समस्या तर्फ ध्यान दिएनन आदि इत्यादी आरोप शिक्षकमाथी छ । एकाध अवस्थामा यो आरोप गलत नहोला तर यी भन्दा फरक र जटिल अवस्थाहरुसँग जुधिरहेका छन सामुदायिक विद्यालय । यी अवस्थाहरुको गहिराइमा नपुगी सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण यस्तै रहुन्जेलसम्म सामुदायिक विद्यालयको अवस्था सुधार हुने छाँट्काँट देखिन्न । प्रायजसो सामुदायिक विद्यालयको सबैभन्दा जटिल समस्या हो असमान दरबन्दी वितरण ।
अधिकांश माध्यमिक विद्यालयहरु प्राथमिक तहका शिक्षकको भरमा चलेका छन । विषयगत दरबन्दी त परै जाओस पाठ्यभार अनुसार पढाउन पुग्ने शिक्षक छैनन । दिनको सातै घण्टी कक्षाकोठामा मात्रै खटिनुपर्ने बाध्यता छ शिक्षकलाई । यस्तो अवस्थामा हामीले कुन गुणस्तरको अपेक्षा राख्ने ? आफ्नो अन्य आम्दानी हुने विद्यालयले त निजी श्रोतमा शिक्षक राखेका छन् तर नहुनेको नि ? यस अवस्थामा दोषी को ? जुन विद्यालयको आम्दानी छ ,निजी श्रोतमा शिक्षक राखेका पनि छन । कतै फालाफाल र कतै अनिकालको अवस्था कहिलेसम्म ? र कसले समाधान गर्ने ? अस्थायीको समस्या समाधान हुने प्रक्रियामा छ तर निजी ,राहत र बालबिकास ? बराबर काम गर्ने शिक्षकको पारिश्रमिक ,सुबिधा फरक फरक छ यस्तो बिभेदको अवस्थामा कमजोर मनस्थिति बोकेका शिक्षकको मनोबल दर्हो बनाउने काम कसको ?
अहिले शिक्षण सिकाइ क्रियाकलापमा नविन आयाम आएका छन । के त्यसको जानकारी शिक्षकसम्म पुगेको छ ? प्रबिधिमैत्री शिक्षण , क्रियाकलापमा आधारित शिक्षण , निरन्तर विद्यार्थी मुल्यांकन (ऋब्क्) या वालमैत्री विद्यालय यसको अवधारणा पछिल्लो पुस्ता २०७० भन्दा यता स्थायी भएका र आयोगको तयारी गरिरहेका बाहेकका अन्य शिक्षकसम्म अझै पुगेको छैन । पुराउने जिम्मेवारी कसको ? विद्यालयमा सबै उमेर समूहका शिक्षक छन । प्रबिधिमैत्री विद्यालय बनाउनु छ । एउटा एन्ड्रोइड मोबाइल चलाउन नसक्ने शिक्षकबाट कस्तो प्रबिधिमैत्री कक्षाकोठाको आस गर्ने ? यसमा सहजीकरण गर्ने निकाय कुन हो ? अनिवार्य अवकाशको ६० वर्ष कुरेर मात्र दिन बिताउन आएका शिक्षकलाई कि सिकेर पढाऊ होइन भने नयाँलाई बाटो खुलाऊ कसले भन्ने ?
विद्यालयमा फ्री वाइफाइ , पुस्तकालय ,प्रोजेक्टर , स्मार्ट कक्षाका कुरा गरौ । कतै छदैँछैनन् । भएका पनि त प्रयोगमा छैनन् । सामग्री हुँदैमा पनि त परिवर्तन नहुने रहेछ । ती सामग्रीको प्रयोगका लागी अभिमुखिकरण गर्ने दाइत्व कसको ? सामग्री अनुसारका कोठा र दक्ष जनशक्ति विद्यालयमा छैनन् । जस्तै विद्यालयमा कम्प्युटर पढाई हुन्छ । कम्प्युटर पनि प्रयाप्त छन । तर कम्प्युटर पढाउने शिक्षक नि ? यी र यस्ता थुप्रै विषयवस्तु छन् जसमा सरोकारवालाको ध्यान पुग्न जरुरी छ।
हो सामुदायिक विद्यालय सुधारका लागी सरकारले बर्षेनी अर्बौ रकम खर्चिरहेको छ । विदेशी दाताले खर्बौ लगानी गरिरहेका छन् । यसको प्रत्यक्ष महशुस शिक्षकले विद्यार्थीले कहिले गर्न पाउने? के नितिनिर्माण मात्र गरेर हुन्छ र ? जसले कार्यान्वयन गर्नुपर्ने हो उसलाई त्यसबारे जानकारी हुनुपर्छ कि पर्दैन ? सरकार कार्यान्वयन तहमा चुकेको छ ।कार्यान्वयन संगसंगै विद्यालयको नियमित अनुगमन नियमन पनि हुनुपर्ने होइन र ?
विद्यालयमा प्रधानाध्यापकको प्रमुख भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद नै छ । विद्यालयलाई सक्षम नेतृत्व प्रदान गर्न गर्नुपर्ने समग्र विद्यालयको नेतृत्व प्रधानाध्यापकले गर्छन । त्यसैले प्रधानाध्यापकको इच्छाशक्तिले पनि विद्यालयलाई धेरै फरक पार्छ । विद्यालय सफल हुनलाई अभिभावकको विश्वास,साथ , शिक्षकको मिहिनेतसंगै शिक्षक अभिभावकमा अभिप्रेरणा पनि जगाउनुपर्ने हुन्छ । नेतृत्वको हिसाबले प्रधानाध्यापकले यस जिम्मेवारीलाई पनि गहन रुपमा वहन गर्नुपर्ने देखिन्छ ।एकपटक शिक्षक प्रधानाध्यापक भैसकेपछी शिक्षक हुँ भन्ने समेत बिर्सिएका अवस्था पनि देखिन्छन् । प्रधानाध्यापक पद हो कि व्यक्ति ? पद हो भने किन स्थायी ? जसरी खेलको टिममा कप्तान छनोट गरिन्छ त्यसैगरी निश्चित समयसिमा भित्र तोकिएको लक्ष्य हाँशिल गर्ने जिम्मेवारी दिएर शिक्षक कर्मचारीलाई पुरस्कार र दण्ड गर्ने अधिकार सहितको प्रधानाध्यापक नियुक्ति गर्नुुपर्ने पो हो की ?
विद्यालयमा पठनपाठनको अवस्था सुधार गर्न शिक्षकसंगै ,प्रधानाध्यापक ,व्यवस्थापन समिति ,विद्यार्थी र अभिभावकको पनि उत्तिकै भूमिका रहन्छ । हुँदा खाने समुदायका विद्यार्थी अधिकांश सामुदायिक विद्यालयमा छन् । जुन दिन धेरै गर्मी हुन्छ, जुन दिन धेरै जाडो हुन्छ , जुन दिन धेरै वर्षा हुन्छ त्यो दिन विद्यालयमा विद्यार्थीको उपस्थिति उल्लेख्य हुन्छ कारण मौसम ठिक हुँदा उनीहरु पनि कमाउन जानुपर्छ ।
गरिबीको चपेटाबाट हात मुख जोर्न धौधौ भएका अभिभावकले आफ्ना छोराछोरीलाई घरमा कस्तो वातावरण दिएका छन् ? अनुमान सहजै गर्न सकिन्छ । विद्यार्थी नियमित विद्यालय उपस्थित हुने, घरमा पनि एकछिन भएपनि पढ्ने वातावरण मात्र हुने हो भने पनि पठनपाठनमा धेरै परिवर्तन हुन्छ ।
शिक्षककै कुरा गर्दा तलबको कुरा पनि त गरिहालौ । तलब अर्थात तनखाको अवस्था पनि तँ नखा जस्तो छ । कतिपय ठाउमा अझै चौमासिक निकासा हुन्छ । सरकारले शिक्षकलाई सधैं उधारो खाने ग्राहक बनाएको छ । शिक्षककलाई मानसिक रुपमा सबल बनाउने हो भने प्रत्येक महिनाको अन्त्यमा शिक्षकको तलब अनिवार्य रुपमा खातामा जम्मा गर्नुपर्ने देखिन्छ । भोको पेट बाँझो फोर्न सकिन्छ र ? अर्काेतिर प्रधानाध्यापकको अवस्था पनि उस्तै छ । प्रअलाई जति जिम्मेवारी छ त्यो अनुसार भत्ता र अन्य सुविधा नि ? के जति भत्ता प्राप्त भैराछ त्यो उपयुक्त छ ? यसमा पनि त सोच्न जरुरी छ । अन्त्यमा माथीका अनगिन्ती व्यवधानका बिच यथास्थितिलाई परिवर्तन गर्ने जिम्मेवारी र क्षमता कार्यरत शिक्षकहरूमा नै छ । विद्यमान साधनश्रोतको अधिकतम प्रयोग गरी सामुदायिक विद्यालयको पठनपाठनलाई परिणाममुखी बनाउनु शिक्षकको दाइत्व हो । शिक्षकले आफ्नो कर्तव्य इमान्दारका साथ पुरा गरिदिने हो भने धेरै कुराको सुधार आफै हुन्छ भन्नेमा दुइमत छैन । तर शिक्षकले मात्र चाहेर असम्भव छ । सामुदायिक विद्यालयको यी र यी जस्ता अन्य गन्जागोल हटाउन सरोकारवाला निकाय , प्रधानाध्यापक , शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति , समुदाय र अन्य निकायको सक्रियता सहसम्बन्ध र विद्यालयप्रति सकारात्मक सहयोग उत्तिकै आवश्यक देखिन्छ । तब मात्र सरकारी विद्यालय ,आहा विद्यालय बन्नेछन् ।