अशोक पहाडी
रौतहट,२० असार । घरमा आर्थिक संकट परेको भन्दै आफ्नै छोरीको जीवन बिमा गराएर एजना निर्दयी बाबुले आफ्नै छोरीको हत्या गरेका छन् ।
२ नं प्रदेश सरकारले बेटी बंचाउ बेटी बढाउ अभियान थालेर छोरी सुरक्षाका लागि बिभिन्न कार्यक्रम गरिरहंदा रौतहटमा भने आफ्नो आर्थिक संकट हटाउन एकजना बाबुले आफ्नै छोरी मारेको रहस्य खुलेको हो ।
घरमा आर्थिक संकट रहेको र त्यसको केही उपाय नपाएपछि रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको जीवन बिमा गराएर हत्या गरेका हुन् ।
असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका रहेछन् । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।
राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ ।
यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका यादवले योजना बद्ध रुपमा छोरीको हत्या गरेका हुन् । उनले छोरीको बिमा गरेपछि गाँउका एकजनाले बीमा गरेको मान्छे एक महिनामा मरेमा डबल रकम पाउने बताएपछि बिमा गरेको एक महिनापनि बित्न नपाउदै छोरीको हत्या गरेर पोखरीमा फालेको स्विकार गरेका छन् ।
लामो समय तत्कालिन माओवादी जनयुद्धमा सक्रिय रहेका यादवले पछिल्लो समय घरमा आर्थिक संकट पर्दे गरेपछि त्यसको निधानका रुपमा छोरीको बिमा गरेर हत्या गर्ने योजना बनाएको प्रहरीले गरेको पत्रकार सम्मेलनमा बताए ।
छोरीको हत्या पछि उनी बिमा वापतको रकम निकाशाका लागि सक्रिय भएको र उनको गतिबिधि समेत शंकास्पद रहेका कारण प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पत्रकार सम्मेलनमा यादवले भने आफुले गरेको गल्तीको सजाय अव भगवानले दिने समेत बताएका थिए ।
चाडै पैसा कमाउनका लागि यादवले छोरीको बिमा गराएको र बिमा कंम्पनीले त्यो २५ लाख भन्दा बढीको बिमा गराएको भएपनि आफु गराउन तत्पर रहेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।