जनकपुर,२५ असार / धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आत्माहत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी शव चलाउन खोजे। यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै शव उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ । दागबत्ती दिइसकेपछि शव जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको भगाभाग भयो ।
घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार भइरहेको थियो । प्रहरीले शवका साथै घटनास्थलबाट सातजना मलामीलाई पक्राउ गरेको छ । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिए । उनका अनुसार आत्महत्या भनिए पनि छिमेकील घटना शंकास्पद रहेको जानकारी गराएका छन् ।