कटहरिया,१२ साउन ।रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले आर्थिक वर्ष २०७५र७६ मा गरेको कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेका छन् ।
शनिबार कटहरियामा एक कार्यक्रमको आयोजना गरी सांसद साहले सदाझैँ गत आर्थिक वर्षमा भएका कामहरु तथा चालु आ.व. २०७६र७७ मा गरिने कार्यहरुबारे स्थानीयसग अन्तरक्रिया गरेका हुन् । प्रगति विवरणमा आ.व. २०७५र७६ मा सम्पन्नजनसम्बन्ध तथा सेवा, जनपरिचालन एवम् दिशानिर्देश, शिक्षा र स्वास्थ्य, बाँध तटबन्ध तथा नदी नियन्त्रण, सिँचाई, उर्जा, सडक पूर्वाधार, भवन तथा खानेपानीसम्बन्धी कार्यहरुको जानकारी दिइएको छ ।
सोनरनिया र विजयपुरमा गुणस्तरीय शिक्षाका लागि सामुहिक प्रतिवद्धता, माध्यमिक तहका छात्रालाई साइकल तथा ११ र १२ कक्षाका छात्रालाई ल्यापटप वितरण गरिएको गत आर्थिक वर्षमा विभिन्न विद्यालयमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको हो ।
विभिन्न विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना भएका छन् भने विद्यार्थी भर्ना कार्यक्रम प्रभावकारी बनाउन विभिन्न कार्यक्रम आयोजना गरी सांसद साहले अभिभाकत्व लिइ विद्यार्थी भर्ना गरेका थिए ।
विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापनाका लागि ठेक्का कार्य सुरु गरिएको छ भने सेवा सुधारका लागि प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण तथा अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ । लाल बकैया नदीमा बाध निर्माण प्रक्रिया सुरु हुनाका साथै गुजरा, धनसर, झाझ, भकुवा र अरुवा नदीमा थप नियन्त्रण कार्य प्रारम्भ गरिएको हो । गत वर्ष नहरहरुको स्तरोन्नति गरिएको छ भने डिप ट्यूबबेल, कुलो, तथा सिंचाई आयोजनाका कामहरु अगाडि बढाइएका हुन् । मौलापुर सबस्टेशन आयोजनामार्फत ७ कि.मी. नयँ प्रशारण लाईन विस्तार तथा विद्युतीकरण र सोलार जडानका कार्यहरु पनि यसै वर्ष भएको सांसद साहको प्रतिवेदनमा उल्लेख छ । विभिन्न स्थानमा गरी गत वर्ष किरब ३० कि.मी. नया सडक बनेको तथा कटहरिया र मौलापुरमा शहरी पूर्वाधार निर्माणका लागि डिपीआरलगायतका कार्यहरु उल्लेख छ । चाडपर्वसहित हरेक विशेष अवसरमा सधै जनतामाझ रहेको, युवाहरुलाई प्रशिक्षण तथा ट्रयाकसुट र टोपी वितरण गरेको, खेलाडीलाई खेलकुद साम्रगी उपलब्ध गराएको, अतिक्रमित सार्वजनिक जग्गा भुमाफियाबाट मुक्त गराएको जस्ता जनसरोकारका कामहरु प्रतिवेदनमा उल्लेख छ ।
हरेक विषयमा जनतासंग परामर्श गरी काम गरिए उल्लेख प्रतिवेदनमा गत आर्थिक वर्षमा उपराष्ट्रपतिसहित विभागीय मन्त्रीहरु तथा दलका नेताहरुलाई आफ्नो क्षेत्रमा भ्रमण गराइ विकास कार्यहरु थपिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै सांसद साहले आफू सधै जनतासंगै जनताको बीचमा रहेको जीकिर गरे । इमानदार चरित्र, पारदर्शी काम र जनताको सक्रिय सहभागिता बिना समृद्धिको यात्रा तय गर्न नसकिने बताए ।