गौर,१४ साउन ।
तराईका जिल्ला मध्य गएको असारमा आएको बाढीबाट आक्रान्त रौतहट बासीलाई दिने राहतमा समेत प्रदेश प्रदेश सरकारले राजनिति गरेको राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा रौतहट क्षेत्रनं १ का सांसद अनिल झाले आरोप लगाएका छन् ।
अनिल झा मात्र नभएर नेकपा र नेपाली काँग्रेसले समेत रौतहटमा स्थानीय प्रशासनलाई बेवास्ता गर्दे प्रदेश २ का मुख्य मन्त्रीले आफ्ना मान्छे लगाएर मनोमानी राहत बाँडेका कारण बास्तविक पिडित झन पिडित बनेको आरोप लगाएका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा रौतहट क्षेत्रनं ३ का सांसद प्रभु साहले केन्द्र सरकारले बाढीपिडितलाई राहत नदिएर पिडा दिएको बेला प्रदेश सरकारले आफ्ना खेताला लगाएर आफ्ना मान्छे छानी छानी राहत वितरण गरेको आरोप लगाएका छन् ।
आईतबार नेकपा रौतहटले राहत बितरण निष्पक्ष तथा प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत राहत बांडन माग गर्दे जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र समेत बुझाएको थियो ।
नेपाली काँग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का सांसद देवप्रसाद तिमलसिनाले जुन जिल्लाका सिडियो एसपीको उद्धारका लागि दुईदिन पर्खेर डुंगा लिएर जानु प¥यो तेही जिल्लामा केन्द्र सरकारले अहिले सम्म राहतको उचित व्यावस्था गर्न नसकेकोमा आक्रोस पोखेका छन् ।
राजपा लगाएतका नेकपा ,नेपाली का“ग्रेसले राहत वितरणमा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई वास्ता नगरी मनोमानी रुपमा राहत बा“डेको आरोप लगाउदै आएका छन् । प्रदेश सरकारको यस्तो काम प्रति राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झा धेरै रुष्ट बनेका छन् । उनकै क्षेत्रमा प्रदेश सरकारले राहत धेरै वितरण गर्दा उनले सुईको समेत पाएनन् ।
यता शुक्रबार नेकपा प्रदेश २ को सबै जिल्लाका अध्यक्ष र सचिव सहित बसेको बैठकले पार्टीलेनै राहतको बिषयमा तदारुकता देखाउन नसकेको ,केन्द्र सरकारको राहत बाढीपिडित जिल्लामा जान नसकेको भन्दै तत्काल राहतको माग गरेको छ ।
नेकपा प्रदेश २ को बैठकमा माधव नेपाल गुटका जिल्ला अध्यक्ष तथा सचिवको सहभागिता रहेको थिएन् । सर्लाहीको लालबन्दीमा बसेको नेकपा प्रदेश २ को बैठकले केन्द्र सरकारले राहत भन्दा पहिला बाढीपिडितका लागि पुनरबासको व्यावस्था गर्नु पर्ने र त्यसका लागि तत्काल पहल थाल्ने निर्णय भएको नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले जानकारी दिए ।
बाढीले आक्रान्त रौतहट जिल्लामा स्थानीय तहले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको भएपनि केन्द्र सरकार र प्रदेश सरकारले खासै सहयोग नगरेको बाढिपिडितहरुको भनाइ रहेको छ ।
रौतहट जिल्ला हरेक बर्ष बाढीको चपेटामा पर्ने गरेको छ । बागमती र लालबकैया नदिमा बनेका तटबन्ध गुणस्तरहिन हुनु ,हिउदमा काम गर्नुको साटो कानमा तेल हालेर बस्नु र सिमामा भारतले बाधेको बाँधका कारण जिल्लाका अधिकांस सिमावर्ती बजार डुवानमा पर्ने गरेका छन् । पछिल्लो समय रौतहटमा बाढी पिडितका लागि राहतको व्यावस्था गर्नुको साटो स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकार एकले अर्काको मुख ताकेर बसेका कारण बाढीबाट पिडितहरु झनै पिडित बनेका छन् ।