गौर,५ भदौ / प्रदेश नम्वर दुईको नेकपाका अध्यक्ष तथा संघिय सांसद प्रभु साहले हालै दिएको भनिएको राजीनामा पदका लागि घुर्की मात्र भएको नेकपा रौतहटका असन्तुष्ट पक्षद्धारा आरोप लगाइएको छ ।
नेकपाको असन्तुष्ट पक्षको अगुवाइ गर्दै आएका पुर्व सांसद एवं तत्कालिन माओवादी पार्टीका पुर्व जिल्ला संयोजक अशोक जयसवालले बुधबार दिउसो सदरमुकाम गौरमा पत्रकार सम्मेलन आयोजना गरि सो आरोप लगाएका हुन । नेकपा प्रदेश कमिटिका अध्यक्ष तथा साँसद साहले पार्टीमा गुटगत राजनीति गरेको र पार्टीमा लामो समयदेखि दुख गरेका नेता कार्यकर्तालाई निषेधको राजनीति गरेको पत्रकार सम्मेलनमा पुर्व साँसद जयसवालले बताए । साहले सिंगो पार्टीलाई नै पारिवारिक करण गर्दै आएको र भिन्न मत राख्नेलाई पार्टीमा पेल्ने गरेको उनको आरोप थियो ।
अहिले दुई वटा पार्टी एक भएर आएपछि जिल्ला कमिटि र नगर कमिटी गठन गर्दा आफुहरुसंग कुनै सल्लाह नै नगरी एकलौटी रुपमा अघि बढेको पत्रकार सम्मेलन पछि वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा स्थानीय र संघिय चुनावमा आफ्ना उम्मेदवार नभएका कारण चार पाँचवटा स्थानिय तहका उम्मेदवार पराजित हुनुपरेको उल्लेख गरिएको छ ।
सिंगो पार्टी र पार्टीका कार्यकर्तालाई सिध्याएर आफ्ना घर परिवार र सिमित दलालहरुको पार्टी बनाउन खोजेको प्रदेश अध्यक्ष साहलाई पदिय दुरुपयोग गरेको अभियोगमा पार्टीले कारवाही गरोस,विज्ञप्तिमा भनिएको छ ।
पुर्व पार्टीहरुबीच भएको भागबन्डा मुताविक आआफ्नो दलबाट नामहरु सिफारिस गरिएकाले असन्तुष्ट पक्षको असहमति पुर्व माओवादीसंग रहेको विज्ञप्तिमा जनाइएको छ ।