चन्द्रपुर, ८ भदौ / हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुई नम्वर प्रदेश सरकारले घोषणा गरेको हरित अभियान २०७६ अन्तर्गत शनिबार रौतहटमा बृक्षारोपण कार्यक्रम शुरु गरिएको छ । जिल्लाका रंगपुर र रामलाल बृन्दावन साझेदारी वन क्षेत्रको २० हेक्टरमा प्रदेश उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्रालयको आयोजना, डिभिजन बन कार्यालय,रौतहटको संयोजन र सम्वन्धित साझेदारी वन उपभोक्ता समितिको सह संयोजनमा बृहद बृक्षारोपण कार्यक्रम शुरु भएको हो ।
गुजरा नगरपालिका वडा नम्वर एकमा रहेको रंगपुर साझेदारीको अतिक्रमित वनक्षेत्र र चन्द्रपुर नगरपालिका वडा नम्वर नौस्थित रामलाल बृन्दावन साझेदारी वनक्षेत्रका नदि उकास जमिनमा प्रदेश नम्वर दुई सरकारका कृषि,भुमिब्यवस्था तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले बृक्षारोपण गरि अभियानको शुरु गरिएको हो । राज्यमन्त्रि यादवले कृषि,पर्यटन,पुर्वाधार विकास र मानव जिवनका लागि बनको सरक्षण तथा विकास आवश्यक भएकाले प्रदेश सरकारले बृहद बृक्षारोपण कार्यक्रम अभियानका रुपमा ल्याएको बताए । अभियानले प्रदेशभर नै शहर, गाउ, सडक, पोखरी, मन्दिर र नदी तटहरुमा हरियाली विकासमा जोड दिने उहाँले बताए । यहाका सवै जिल्ला दक्षिणमा भारतसंग सीमा जोडिएको र उत्तरमा चुरेक्षेत्र रहेकाले तराई मधेशको उर्वरभूमि जोगाउन पनि बृक्षारोपणको खाचो रहेको जनाउंदै उनले अभियानलाई प्रदेशकै गौरव अभियानका बनाइने दावि गरे ।…
प्रदेश सरकारको हरित अभियान अन्तर्गत शनिबारबाट शुरुवात गरिएको बृक्षारोपणमा शनिबारबाट यस जिल्लामा मात्र एक लाख ६० हजार विरुवा रोपण हुनेछ । रौतहटमा २९ हजार चारसय हेक्टर बन क्षेत्र रहेको छ । अतिक्रमित जमिन चार हजार हेक्टर रहेको बन कार्यालयले जनाएको छ । खालि,ऐलानी,अतिक्रमित भएका सामुदायिक, साझेदारी र नदि किनारका उकास जमिनमा बृक्षारोपण गरिने जनाइएको छ । हरित अभियान कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले आठ वटै जिल्लामा प्रति हेक्टर एक लाख पचास हजार रुपैयांका दरले रकम उपलब्ध गराउने डिभिजन वन कार्यालय,रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए । उनका अनुसार, प्रदेश सरकारले उपलब्ध गराउने रकम विरुवा हुर्काउन,तारघेरा बेरा र हेरालु राख्ने कार्यमा खर्च गरिन्छ । यसैबीच,कामका सिलसिलमा यसअघि ज्यान गुमाउने २ जना शहिदका परिवारलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा फतुवा महेशपुर वडा नम्वर पँचका स्वर्गिय वन रक्षक रामलाल साहकी पत्नि तेतरीदेवी साह र चन्दपुर नगरपालिका वडा नम्वर चारका स्वर्गिय कृष्णहरि दहालको पत्नि सुनिता दहाल रहेका छन । उनीहरुलाई राज्यमन्त्रि यादवले जनही नगद २१ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका थिय ।