निजगढ,१२ भदौ / नेपाली सेनाले काठमाण्डौ–तराई दु्रत मार्ग (फास्ट ट्रयाक) ३ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ ।सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुत मार्ग निर्माणसम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ ।अन्तर्रा्ष्ट्रिय परामर्शदाताबाट तयार गरिएको डीपीआरमा आयोजनामा निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ ।द्रुत मार्ग खोकनाबाट सुरु भई निजगढसम्म ७२ दशमलव ५ किलोमिटरमा र ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डीपीआरमा रहेकोे भन्दा ३ दशमलव ७० किलोमिटर कम हो ।पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर चौडा बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ ।यो सडकमा ३ वटा सुरुङ मार्ग बन्ने भएको छ । महादेव डँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलोमिटर सुरुङ मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैंकले यस अघि छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमलव ३७ किलोमिटरको सुरुङ मार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको हो ।खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाडा क्षेत्र गरी दुई ठाउमा रेखांकन परिर्वतन भएको हो ।धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रको संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारबाट लेनडाँडासम्मको खण्डमा एडीबीद्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन भएको छ ।