चन्द्रनिगाहपुर,१८ भदौ / रौतहटमा मापदण्ड बिपरीतका निजी अस्पताल धेरै खुलेको गुनासो बढ्न थालेको छ । चन्द्रनिगाहपुरमै सरकारी मापदण्ड बिपरित निजी अस्पताल संचालनमा रहेका छन् । मानिसको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । चन्द्रनिगाहपुरमै एपोलो सिटि अस्पताल सरकारी मापदण्ड बिपरित संचालनमा रहेको भएपनि सम्बन्धीत निकायले वास्ता नगरेका कारण सो अस्पतालले सर्बसाधारणको स्वास्थ्यमा खेलवाड गर्दे आएको सरोकारवालाहरुको भनाइ रहेको छ । रौतहट जिल्ला जनस्वास्थ्यका प्रमुख डा कृष्ण साहले एपोलो सिटि अस्पतालको बारेमा कुरा आएको र त्यसको अनुगमन गरेर सम्बन्धीत निकायमा जानकारी गराउने बताएका छन् । अस्पताल अगडी बसपार्क रहेको र पार्किङको सुभिदा नरहेको ,अस्पतालका लागि आवश्यक भवन समेत नभएको लगाएतका कमजोरी रहेको र डाक्टरको सुमेत सुभिदा नभएको एपोलो सिटि अस्पताल नामको मात्र भएको सेवाग्राहीको गुनासो रहेको छ । अस्पताल सञ्चालन गर्न चाहिने मापदण्ड पूरा नगरी जिल्ला जनस्वास्थ्य कार्यालयले हचुवाका भरमा अनुमति दिएको सरोकारवालाहरुको गुनासो रहेको छ । स—साना घरहरु भाडामा लिएर चन्द्रनिगाहपुर, गरुडा, सुकदेव चौक, गौरमा अस्पतालहरु सञ्चालन गर्दै आएको पाइएको छ । सेवाग्रहीले सवारी पार्किङदेखि उपचारमा दैनिक सास्ती खेप्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो रहेको छ । स्थानीय तहले यसको नवीकरण, अनुगमनको जिम्मा पाए पनि अनुगमन प्रभावकारी हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । रौतहटमा नर्सिङ होम, पोली क्लिनिक, क्लिनिक, ५— १०—१५ र २५ शैयाको गरी २४ वटा अस्पतालहरू दर्तामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रौतहट जिल्ला जनस्वास्थ्यका प्रमुख डा कृष्ण साहले अस्पताल सम्बन्धी बनेको मापदण्ड विपरीत संचालन गर्न नपाइने र सबै अधिकार स्थानीय तहमा गएकोले स्थानिय तहले नै अनुगमन गर्नु पर्ने बताउनु भएको छ ।