सर्लाही,१६ असोज / सर्लाहीको ईश्वरपुर नगरपालिकामा जंगली च्याउ खांदा एकै परिवारका सात जना बिरामी भएका छन् । घर नजिकैको सागरनाथ जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वडा नम्बर १ का रजनसिंह दनवारको परिवारका सात जना बिरामी परेका हुन । बिरामी पर्नेमा ६० वर्षीय रजनसिंह दनवार, उनका छोराहरु २७ वर्षीय राकेश र २५ वर्षीय राजेश, छोरी १५ वर्षीया पुनिताकुमारी, बुहारी ३५ वर्षीया चन्दा, नातिनी १० वर्षीया सोनीकुमारी र नाति आठ वर्षीय जेयान रहेको केशरगंज प्रहरीले जनाएको छ । मंगलबार बेलुका च्याउको तरकारी खाएर सुतेका उनीहरु मध्यरातमा बान्ता गर्ने र रिँगटा लाग्ने भएपछि तत्कालै आफन्तको सहयोगमा उपचारका लागि बयलवास बजारस्थित स्वास्थ्य संस्थामा ल्याइ प्राथमिक उपचार गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई थप उपचारका लागि बुधबार बिहान अञ्चल अस्पताल जनकपुर पठाइएको छ । तीन दिनअघि मात्रै ईश्वरपुर नगरपालिका–११ मा बा“सघारीमा उम्रिएको च्याउको तरकारी खाँदा एकै परिवारका १२ जना बिरामी परेका थिए । तीमध्ये ११ जनाको अहिले पनि अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।