अशोक पहाडी
रौतहट,१० कार्तिक । नेकपा प्रदेश २ का अध्यक्ष तथा रौतहट क्षेत्रनं ३ का सांसद प्रभु साहले विकासको बाधक प्रदेश सरकार रहेको बताएका छन् । विजया दसमी ,दिपावली तथा छठ पर्वको अवसरमा कटहरिया बजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष तथा सांसद साहले सरकार दिगो विकासको पूर्वाधारमा आधारशीला निर्माण गर्न लागि परेको बताएका छन् ।
नगरस्तरीय शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले सरकार पूर्वाधार निर्माण र तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए ।
अध्यक्ष साहले भने, ‘हाल देशमा पूर्ण बहुमतसहित नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । हिजो परिवर्तनका लागि लडेको नेकपा आज मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउदै छ ।
हामीले झट हेर्दा देशमा त्यस्तो केही भएको छैन जस्तो लाग्न सक्छ तर म आग्रह गर्न चाहन्छु लामो सोचका साथ काम गर्दा अलि समय लाग्छ ।ठुलो प्रतिफल दिने परियोजना अगाड़ी बढेको छ ।तपाईंहरु आफ्नै परिवेशमा भएको परिवर्तन पनि हेर्नुस् साहले भने ।
कम्युनिष्ट सरकारले बिगतको बेथिति हटाउँदै जनहितमा काम गरिरहेको उनले बताए । कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाह,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,मौलापुर नगरप्रमुख रिना कुमारी साह नेकपा प्रदेश कमिटि सदस्य रजुउदिन आलम लगायतकाले वर्तमान सरकारले नै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार गर्ने बताए ।
कार्यक्रममा २०६४ सालको संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र ५ बाट सांसद प्रतिस्पर्धी रहेका हाल राजपा नेता रहेका तत्कालीन सदभावना पार्टीका उम्मेदवार सरफलाल महतोले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका थिए । साह पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना आदान प्रदान कार्यक्रममा सक्रिय रहेका छन् ।