गरुडा,२२ कार्तिक / जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाले असारमा परिषद थालेको भएपनि अहिले सम्म परिषद सम्पन्न नगरेका कारण विकास निर्माणको काम प्रभावित भएको छ । नगरपालिकाले अहिले सम्म वडाबाट सिलिङ समेत माग नगरेको र नगरप्रमुखको मनोमानी बढदै गएको भन्दै मेयर बाहेकका दलले चर्को बिरोध जनाएका छन् । गरुडा नगरपालिकामा असार यता कर्मचारीलाई तलव खुवाउने बाहेकको काम नभएको एकजना कार्यपालिका सदस्यले बताए । नगरपालिकामा मेयरका छोरा हाबी भएका कारण गएका बर्षहरुमा समेत काम प्रभावकारी हुन नसकेको गुनासो बढदै जान थालेको छ । कागजमा मात्र विकासको काम हुने गरुडा नगरपालिकामा मेयरका विरुद्ध अन्य दलले तालाबन्दी गर्ने तयारी गरेको सामचारस्रोतले बताएको छ । कर्मचारी माथि समेत मेयर हाबी भएका कारण काम हुन नसकेको कार्यपालिका सदस्यहरुको भनाइ रहेको छ । गरुडा नगरपालिका बाट गत आर्थिक बर्षमा भएको कामको भुक्तानी अहिले सम्म उपभोक्ता समितिले पाउन नसकेको उपभोक्ता समितिका सदस्यहरुको भनाइ रहेको छ । यस आर्थिक बर्षको विकास बजेटको कुनै टुंगो नलागेका कारण नगरको विकास निर्माण प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् ।