गौर २१ कार्तिक / पूर्व मन्त्री एवं सांसद आफताव आलमको मुद्दामा बिहीबार थुनछेक प्रयोजनका लागि सरकारका पक्षबाट सरकारी वकिल खडिन्द्रराज कटवालले पहिलो बहस गरेका छन् । पीडितका पक्षमा बहस गर्न पुर्व महान्यायाधिवक्ता डा युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्परा पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठि डा. कुमार शर्मा आचार्यले बहस गर्ने भएका छन् । कटवालको बहस सकिए पछि आशिकराज कार्कीले बहस थालेका छन् । आलमको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता शेर बहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे रौतहट आइपुगेका छन् । मंगलबारदेखि सुरु भएको आलमको बयान बिहीबार दिउँसो १ बजेमात्र सकिएको थियो । बयान सकिए लगत्तै थुनछेक बहस सुरु भएको हो । सरकार पक्ष, पीडित र अभियुक्तको पक्षबाट धेरै कानुन व्यवासायीले बहस गर्ने तयारी गरेकाले आज थुनछेक बहस सकिने संभावना कम छ ।