वीरगन्ज,२६ कार्तिक / सरकारले भन्सार नाकामा नै विषादी परीक्षण गराउने नया नीति ल्याउन लागे पनि वीरगन्ज भन्सार कार्यालय भने बेखबर छन् । माथिबाट कुनै नया सर्कुलर नआउदा मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय बेखबर भएको हो । फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने प्रविधि त के प्रयोगशाला कार्यालयसमेत वीरगन्जमा नै छैन वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले भने । कर्मचारीले त यही“ विषादी परीक्षण गर्ने भन्ने आधिकारिक हल्ला पनि नसुनेको उनको भनाइ छ । वीरगन्ज भन्सारले बाहिरबाट आयातित फलफूल तथा तरकारीको नमूना परीक्षणका लागि सर्लाहीको नवलपुरमा पठाइरहेका छौं साहले भने । कृषि प्रधान देशमा पछिल्लो समयमा तरकारीसमेत भारतबाट आयात हुंदा आएको छ । प्रमुख भन्सार नाकामा तरकारीको विषादी चेक गर्ने प्रविधि नहुँदा उपभोक्ता विषादीयुक्त तराकारी खान बाध्य छन् । व्यवसायीहरूले तरकारी तथा फलफूल आयात गरिएको सवारीमा नै नकुहियोस् भनी विकल्पको बाटो अपनाउने गर्दा अझ त्यस्तो तरकारी उपभोक्ता लागि विषाक्त हुने गरेको छ । व्यवसायीले भन्सारबाट ल्याउँदा परीक्षणका लागि समय लाग्ने भएकाले उनीहरूले वैकल्पिक बाटो प्रयोग गरेर तरकारीजन्य पदार्थ नेपाल भित्र्याउने गरेका छन् ।