संन्तपुर,२ मंसिर / सामाचकेवा महोत्सव तथा कार्तिकेश कुवँर मेला चन्द्रपुर नगरपालिकाको सन्तपुरस्थित बीरेन्द्र बजारमा बुधवारबाट शुरु भएको थियो । सो मेलामा कृषि प्रर्दशनी, दुग्धजन्य पदार्थ तथा व्यापारिक प्रतिष्ठानका स्टलहरु राखिएका छन् । मनोरञ्जनका लागि विभिन्न खेल, जादु, सरकस लगाएतका स्टलहरु पनि छन् । मेलामा स्थानीय तथा ख्यातीप्राप्त गायक गायिकाकोे प्रस्तुति समेत रहने सामाचकेवा महोत्सव तथा कार्तिकेशकुवँर मेला समितिले बताएको छ । महोत्सव आयोजक समितिका अध्यक्ष प्रमोद चौधरीले ४४ बर्षदेखि यस क्षेत्रमा मेला लाग्दै आएको र यस वर्ष पनि यसलाई निरन्तरता दिएको बताए । यस बर्ष मेला अवधिभर रू.१ करोड भन्दा बढिको कारोबार हुने लक्ष्य रहेको छ । विगतका वर्षमा रू.६० देखि ८० लाख सम्म कारोबार भएकोमा यस वर्ष लक्ष्य अनुसारकोे कारोबार हुने अनुमान छ । कार्तिक २७ गतेबाट शुरु भएको महोत्सव मंसिर २ गते सञ्चालन हुने र दैनिक रू.१० लाखको कारोबार हुने अपेक्षा गरीएको उनले बताए । स्थानीय उत्पादन तथा व्यापार व्यवसायका लागि मेला उपयोगी रहने पनि महोत्सव आयोजक समितिले बताएको छ । थारु समुदायको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्धेश्यले विसं २०३४ सालदेखि यहा सामाचकेवा महोत्सव हुदै आएको छ । महोत्सवको उद्घाटन गर्दै संघीय सांसद देवप्रसाद तिमल्सिनाले यस्ता मेला र महोत्सवले स्थानीयको आर्थिक स्तर वृद्धिमा टेवा पुग्ने बताएका थिय । भाषा, संस्कृति संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनको लागि मेला तथा महोत्सव हुनु पर्नेमा उनले जोड दिए । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले थारु भाषा, संस्कृति संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनको लागि महोत्सवले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।