गौर,११ मंसिर / रौतहट जिल्लाका बिभिन्न नाका भएर तस्करी तिब्र रुपमा बढेको छ । गौर भन्सारबाटै कर्मचारी र तस्करको मिलेमतोमा कपडा र खाद्यबस्तु नेपाल भित्रिरहेको अवस्थामा पछिल्लो समय बिभिन्न छोटीभन्सार बाट तस्करी मौलाएको छ । सिमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी मौलाएको स्थानीयको भनाइ रहेको छ ।
भारतसंग सिमा जोडिएको करिव ३२ किलोमिटरको क्षेत्रमा सिमामा निगरानी राख्न तथा अवाञ्छित गतिविधिको साथै राजस्व चुहावट माथि अंकुश लगाउन पांच स्थानमा सशस्त्र प्रहरीको विओपी, १० भन्दा बढी स्थानहरुमा नेपाल प्रहरीको सिमा प्रहरी चौकी रहेको भएपनि तस्करी रोकिन सकेको छैन ।
सिमामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले यदाकदा रुपमा देखाववटीका लागि मालसामान समात्ने गरेको भएपनि भारतबाट राजश्व छलेर बिभिन्न समान नेपाल ल्याउने र नेपालबाट बिभिन्न समान भारत पठाउने गिरोह सक्रिय रहेको छ ।
व्रम्हपुरी, वेलविछवा, मुख्य नाका गौर, महादेवपटी, टिकुलियाको लाल बकैया नदीको वगर, बन्जरहा, औरैया, मठिया, नरकटिया, रामपुर खाप, कोपवा, बंकुल र पश्चिमी जिल्ला वाराको कचोर्वा र सिम्रौनगढको चोर नाका भएर कालो मरिच, छोकडा, सेतो केराउको दाना भारत जाने गरेको स्थानीय ब्यापारीले बताए ।
भारतीय बजारबाट कपडा, हार्डवेयरका सामान, मोटर पार्टसका स्पेयरहरु, चिनी, प्याज, रसायनिक मल सहित गहुको विऊ लगायत सामानहरु चोरबाटो भएर लाखौंको राजस्व छली गर्दै रौतहट भित्रने गरेको गौरका एकजना ब्यापारीले बताए । उनले भने सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोमा नेपाल बाट भारत भारतबाट नेपाल तस्करी भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र बहादुर खत्री, सशस्त्र प्रहरीका एसपी रोबिनराज कर्णजित र प्रमुख जिल्ला अधिकारी किरण थापा इमान्दार भए रौतहटको नाकाबाट तस्करी बन्द हुने स्थानीयको भनाइ रहेको छ ।
सशस्त्र ,जनपथकै मिलेमतोमा रौतहटको बंकुल नाकाबाट पछिल्लो समय छोकडाका भारत जाने गरेको छ । केही समय पहिला सशस्त्र प्रहरीले भारतको घोडासानबाट बंकुल नाका हुदै रौतहट आएको प्याज बरामद गरेको थियो । स्थानीयका अनुसार जनपथ र सशस्त्र प्रहरीसंग कुरा नमिलेका कारण सो प्याज सशस्त्रले बरामद गरेर गौर भन्सार बुझाएको स्थानीय बासिन्दा रामलाल दासले तराई एक्सप्रेसलाई बताए ।
राजस्व चुहावटमा गौर भन्सारका अधिकृत देखि लिएर तल्लो तहका कर्मचारीहरुको मिलोमतो रहेको पाईन्छ ।
गौर भन्सार गेटको वैरियर राति १० बजेबाट बन्द भएसंगै सर्वसाधारण देखि लिएर अन्य व्यापारिक प्रयोजनका सम्पूर्ण कार्य बन्द हुने गरेको भएपनि भन्सार कर्मचारीको आन्तरिक साठगाठमा रातीको समयमा राजस्व छली गराएर मालसामानहरु भित्रयाउने कार्य सुरु भएको स्थानीयले बताए । भारतीय नम्वरको टेम्पुमा कालो मरिच र छोकडा अबैध रुपमा गौरको मुख्य नाका भई भारत तर्फ जाने गरेको अन्य नाका महादेपटी, वेविछवा सहितको नाकाहरु भएर बालबालिका, महिला र पुरुषहरु टाउकोमा पोका राखेर भारतीय क्षेत्रमा पु¥याउने गरेको स्थानीयले बताए ।
गौर भन्सार एरियामा जेनरल स्टोर्सको पसल थापेका सिमापारी बैरगनियाका व्यापारी मुकेश राजगाडीया, मनोहर साह, संजय गुप्ता र पिन्टु गप्ता सहित गौरका अरुण एण्ड मनोज अग्रवालले विरगंज बाट मरिच, छोकडा र सेतो केराउको गेडाको अयात गरेर सिमापारी पठाउदै आएको गौरका एक व्यापारीले जानकारी दिए ।
नेपाल प्रहरीका घुमुवा भाग्यनारायण, प्रभु केवट सहितका आधादर्जन र सशस्त्र प्रहरीका सुचना संकलनकर्ताको संरक्षणमा अबैध कारोवार भईरहेको आरोप ति व्यापारीको छ ।