समनपुर,१२ मंसिर / रौतहटको सुन्दपुरमा रहेको गढीमाई मन्दिरमा पञ्चवर्षिय मेला सुरु भएको छ । मंसिर महिनाको शुरुवात देखि शुरु भएको मेला एक महिना सम्म लाग्छ । श्रदालु भक्तजन, धार्मिक पर्यटक, पशुबलि, भव्य मनोरन्जन सहित हुने मेलामा भारत सहित नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने गर्छन् । पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा छ । खसीबोका, राँगा, परेवा, मुसा र अण्डाको पञ्चबलि दिएपछि दर्शनार्थीहरुको लागि दर्शन खुला गरिने मन्दिरका पुजारी रामदेव ठाकुरले बताए । मन्दिर परिसरमा बिशेष पुजा र यज्ञ हुने सो समयमा धुपबति आँफै बलेपछि पञ्चबलि दिने परम्परा रहेको उनले बताए । तान्त्रिक र धार्मिक विधिबाट पञ्चबलि दिएपछि गढिमाईमा भाकल लिएर आउनेहरूका लागि बलि खुला गरिने उनको भनाई छ । मंसिरको १७ र १८ गतेसम्म पशुवलि दिन सकिने मान्दिरका पुजारी ठाकुरले बताए । यहाँ अवस्थित गढीमाईलाई साक्षात् देवी रहेको र यिनले इच्छा पूरा गर्दछिन् भन्ने जनविश्वास रहेको पुजारीहरु बताउँछन । करिव ४५ बर्ष अघिको पुरानो मन्दिरका रुपमा रहेको गढिमाईमा हरेक पाँच ÷पाँच बर्षमा मेला लाग्दै आएको छ । २०३१ सालमा बाराको गढिमाई मन्दिर दर्शन गरेर आएपछि स्थानिय जग्गा ठाकुरलाई सपनमा देवीले दर्शन दिएको र मन्दिर स्थापन गर्न अनुरोध गरेपछि यस क्षेत्रमा मन्दिर स्थापना भएको गढिमाई मन्दिर विकास केन्द्रका अध्यक्ष दिपेन्द्र राय यादवले बताए । गढीमाईमा भारतका बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित पूरै भारतका विभिन्न क्षेत्र र नेपालबाट दर्शनार्थी आउने गरेको उनले बताए । मंसिर १० देखि २१ गते सम्म मन्दिरमा बिशेष पुजा हुने उनको भनाई छ । यस बर्ष करिव २ हजार राँगाको बलि चढ्ने र खसीवोका, परेवाको हजारौको संख्यामा बलि हुने उनले बताए । लामो इतिहास बोकेको गढीमाई देवीको मन्दिर स्थापना संगै बलि प्रथा हुने गरेको उनको भनाई छ । मन्दिरको ५ किलोमिटर वरपरको क्षेत्रमा बलि हुने गर्दछ । भाकल गरेका राँगाहरू बलिपश्चात उक्त मासु प्रसादको रुपमा घर लैजाने चलन रहेको छ । गढिमाई मन्दिर विकास केन्द्रका अनुसार मेला समितिले भने ५१ वटा राँगाको बलि दिने गर्छ । यस बर्ष ५ लाख भन्दा बढि दर्शनार्थी गढिमाई दर्शनका लागि आउने अनुमान मेला समितिले गरेको छ । मेला अवधिभर खाद्यान्न, पानी, चुरोट, मदिरा, मासु, चिउरा, पेय पदार्थ आदिको व्यापार हुने गर्दछ । गढीमाई मन्दिरमा हुने पञ्चवर्षिय मेलाका लागि सुरक्षाकर्मी, स्वयमसेवक, विधुत, पानी तथा शौचालय लगायतका व्यवस्थापन गरिएको छ । धार्मिक आस्थाका रुपमा रहेको यस मन्दिरबाट नै नगरपालिकाको नाम गढिमाई राखिएको छ ।यस्तै गुजरा नगरपालिका वडा नं. ७ कनकपुरमा रहेको गढिमाई मन्दिरमा पनि मंसिर १० देखि २१ गते सम्म मेला लाग्ने भएको छ । भारतिय सवारीसाधनमा समूह बनाई भारतीयहरू परिवारसहित पूजाआजा गरी मेला हेर्ने र समूहमै खाना बनाएर खुल्ला स्थानमा सुत्ने गर्दछन् ।