सप्तरी,१२ मंसिर / तराई मधेशमा बढदै गएको दाइजो प्रथालाई चुनौती दिदै एक अभिभावकले आफनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधुवापुर निवासी शैलेन्द्र चन्द्र झाले आफनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमलाई विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेर यस्तो उदाहरिण विवाह सम्पन्न गरेका हुन । बैवाहिक कार्यक्रम खर्चिलो र भडकिलो मनाउने चलन विपरित भएको यो विवाह अहिले चर्चाको विषय बनेको छ । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमर नाथ झाका छोरा अमित विच बुधबार यस्तो उदाहरणीय विवाह सम्पन्न भएको हो । यसमा दाईजो लिनेदिने काम भएन । बर पक्षका अभिभावक समेतको सहमतिमा दाईजो लेनदेन नगर्ने टुगो लागेपछि आफुले समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी विवाहकै दिन राहत स्वरुप गरिब असहायलाई कपडा वितरण गरेको नेकपाका नेता समेत रहेका वेहुलीका वुवा शैलेन्द्र चन्द्र झाले बताए उनले भेन, न मेरा समधीले दाईजो मागे न मैले दिए, त्यहि बचेको रकमबाट गरिब असहायलाई सानो सहयोग गरेका हौं । उनले छोरीलाई शिक्षा दिक्षा दिई सकेपछि किन दाइजो दिने भन्ने मेरो सोच र समधीको पनि सोच ठयाकै मिलेपछि विवाहको कुरा छिनिएको सुनाए । बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए । अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा प्रदान गरेका थिए । बेहुली अभिलाषाले विवाहकै दिन गरिब असहायलाई सहयोग गर्न पाउँदा निकै आत्म सन्तुष्टी मिलेको बताईन । उनले थपिन, बुवा सामाजिक कार्यमा योगदान पुर्याउदै आउनु भएको थियो । आजको शुभ दिन त्यसैको निरन्तरता हो । विवाहमा बेहुली पक्षले निम्तो बाँडेको कार्डमा समेत लेखिएको थियो, कृपया उपहार लिएर नआउनु होला, आशिर्वाद मात्र दिए पुग्छ । झाले छोरीलाई विदाईमा आफनो क्षमता अनुसार दिने बताउदै भने ज्वाई पक्षबाट पनि केही माग नभएकाले सम्बन्ध जोडन सहज भयो । यता विहेका दिन घरमै बोलाएर खाजा र लत्ता कपडा उपलब्ध गराएकोमा विपन्न समुदायका महिला र बालबालिाहरु पनि निकै खुशी देखिन्थे । लत्ता कपडा पाएर खुशी भएकी उर्मिला सदाले भनिन, दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको छ । प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले दाईजो कारोबारलाई निरुतत्साहित गर्दै झा परिवारले गरेको विवाहले समाजमा साकारात्मक सन्देश गएको र यसबाट अरुले पनि शिक्षा लिनुपर्नेमा जोड दिए । छोरीलाई दाइजोको रुपमा सुनचाँदी, हिरामोती, गरगहना, रुपैया पैसा र गाडी सम्म दाइजो दिएको जताजतै सुनिएकै बेला र दाईजोकै कारण महिला हिंसाको घटनामा बृद्घि भईरहेका बेला झा परिवारमा सम्पन्न यस्तो उदाहरणीय विवाहबाट सवैले शिक्षा लिनु जरुरी छ ।