गरुडा,५ पुस / प्रदेश २ सरकारले उखु कृषकहरु वर्षौदेखी झेल्दै आएको समस्या समाधान गर्न समिति गठन गरेको छ ।
मिलमा उखु बिक्रि गरेवापतको भुक्तानी नपाएर लामो समयदेखि उखु कृषकहरुले भोग्दै आएको पीडा तथा समस्या समाधान गर्न प्रदेश सरकारले प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको संयोजकत्वमा आठ सदसीय समिति गठन गरेको छ ।
प्रदेश सरकारका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको अध्यक्षतामा बसेको सरोकारबालाहरुको बैठकले राज्यमन्त्री यादवको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले उखु कृषक तथा चिनी उद्योगीहरुसंग छलफल, परामर्श, फिल्ड अवलोकन गर्दै एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछन् । उखु कृषक र उद्योगीबीचको समस्या पहिचान गरी समाधान गर्नको लागि उक्त समिति गठन गरिएको समितिका संयोजक मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
त्यस्तै बन्द अवस्थामा रहेको रौतहटको सबभन्दा ठुलो उद्योग श्री राम सुगर मिललाई पनि जसरी भएपनि सञ्चालन गर्नको लागि समितिले पहल गर्ने निर्णय गरिएको छ ।
किसानको ४२ करोड रुपैया“ भुक्तानी गर्न बाँकी राखेकै अवस्थामा उद्योगपतिले श्री राम सुगर मिल यस वर्ष सञ्चालन गर्न कुनै चासो नदेखाएको बारे सीआईएनबाट रिपोर्ट प्रसारण भएका एकसाता पनि नबित्दै प्रदेश २ सरकारले उक्त मिल सञ्चालन गर्न र किसानको अरु समस्या पनि समाधान गर्न चासो लिएको हो । बैठकले उखु कृषकहरुको संघ–संस्थाहरु, चिनी उद्योगीहरु एवं अन्य सरोकारबालाहरुको बैठक २०७६ साल पुस महिना १० गते मन्त्रालयमा आयोजना गरिने निर्णय समेत गरेको छ ।