चन्द्रपुर,६ पुस / नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले कमजोर सडक पुर्वाधारका कारण सवारी दुर्घटना बढेको बताएका छन् । सो बिषयमा साहले सम्बन्धीत निकायमा कुरा समेत राखेका छन् । कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढेको भन्दै सांसद प्रभु साहले दुर्घटना रोक्न सक्ने पूर्वाधार निर्माण गर्न आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बढ्दो सवारी दुर्घटना माथिको छलफलमा बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले सांघुरो सडक, नियमनमा लापरवाही तथा सडक सुरक्षासम्बन्धि अज्ञानका कारण दुर्घटना बढेको बताए ।
अध्यक्ष साहले भने,सडक दुर्घटनाको मुख्य कारण सांघुरो तथा बढ्दो सवारीको चाप हो । पछिल्लो समय मुलुकमा निर्माण भएका तथा निर्माणाधीन सडकहरुको सडकसीमा निक्कै सांघुरो छ ।
कतै ९ मीटर त कतै १५ मीटर सडकसीमा तोकेर सडकहरु निर्माण भएका छन् । जबकी मापदण्ड नै हामीले राजमार्गका लागि ५० मीटर राख्ने बनाएका छौ । त्यसको कार्यान्वयन नहुँदा सडक दुर्घटना बढी भएको हो । उनले भने, एकातर्फ दुर्घटना मानवीय तथा प्राविधिक कारणले भइरहेको हो ।
चालकको लापरबाही, मानसिक तथा दृष्टिमा समस्या, जाँडरक्सी सेवन वा तीव्र गतिमा गाडी गुडाउने जस्ता मानवीय त्रुटीका कारण दुर्घटना हुने गर्दछ ।
त्यस्तै गाडीमा समस्या, थोत्रो गाडी, ब्रेक फेल, पांग्रा चिप्लिनेजस्ता प्राविधिक त्रुटीले दुर्घटना निम्तिने गरेको छ । नियमक निकायको लापरबाहीका कारण पनि सडक दुर्घटनामा वृद्धि भएको आरोप लगाउदै उनले थपे,एकपटक सवारी चालक अनुमतिपत्र दिइसकेपछी पुनस् त्यसको अपडेट लिइदैन । पछि चालक अन्धो भयो कि मानसिक समस्या आएको हो सम्बन्धित निकायलाई मतलब हुदैन । गाडी चल्न योग्य छ कि छैन, रुट परमिट आवश्यक छ कि छैन त्यसको नियमन गर्ने निकाय छ तर नियमनमा व्यापक लापरबाही छ जसको कारण दुर्घटना बढ्दो छ ।
स्तरीय सडकको निर्माण बिना दुर्घटना रोक्न नसकिने उनको भनाई छ । सडक ऐनमा व्यवस्था भएको सडकसीमा निर्धारण गरि सडक बनाएमा मानवीय तथा प्राविधिक त्रुटी एकहद सम्म नियन्त्रण हुनेमा सांसद साह सहमत छन् । उनले सडक सुरक्षा ऐन पनि ल्याउनुपर्नेमा जोड दिए ।