समनपुर,२१ पुस / रौतहटको गढीमाई नगरपालिकाको नदीजन्य पदार्थ निकासी ठेक्कामा ठेकदारले किर्ते बैंक ग्यारेन्टी राखेपछि ठेक्का रद्द भएको छ ।
गत भदौ २१ मा बाग्मती नदीको बालुवा र गिटीको स्वीकृत ठेक्काको कार्यपालिका बैठकले ठेक्का रद्द गरेको हो ।
उक्त नगरपालिकाको सीमाभित्र पर्ने बाग्मती नदीको समनपुर, बलुवा तथा लक्ष्मीपुरको घाटको गिटी र बालुवाको ठेक्का भाग्यमानी कन्स्ट्रक्सन प्रालि काठमाडांैले फर्जी बंैक ग्यारेन्टी राखेको थियो ।
ठेकेदार कम्पनीका प्रतिनिधि राधेश्याम साहले राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको एक करोड ६० लाख रुपैयाको नक्कली बैंक किर्ते बैंक ग्यारेन्टी ल्याएर नगरपालिकासित सम्झौताको पहल गरेको थियो । नगरपालिकाका लेखाप्रमुख कामेश्वर सहनीले सो बंैक ग्यारेन्टीमा शंका लागेर बैंकमा सोध्दा कुनै किसिमको बैंक ग्यारेन्टीको पत्र भाग्यमानीको नाममा जारी नभएको कुरो आएपछि ठेक्का सम्झौता रोकिएको थियो । आर्थिक वर्ष २०७६÷७७ का लागि सो ठेकेदार कम्पनीले ५ करोड २५ लाख रुपैयँमा सम्झौता गरेको थियो ।
भाग्यमानीले लक्ष्मीपुर घाटको ठेक्का एक करोड ४ लाख रुपैयामा सकार गरेको भए पनि नगरपालिकाको खातामा ५० लाख रुपैया मात्र जम्मा गरेको थियो ।
बालुवा घाटको ठेक्का एक करोड दुई लाख रुपैयामा सकार गरेको र सम्पूर्ण रकम जम्मा गरेको थियो । भाग्यमानीले समनपुर घाटको बालुवा र गिटी ३ करोड २५ लाख रुपैयामा सकार गरेको थियो तर रकम जम्मा नगरेको र सम्झौता पनि नगरी धमाधम गिटी र बालुवा गत असोज १ देखि नै उठाइरहेको थियो ।
किर्ते बैंक ग्यारेन्टीको विषयमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान बढाएको छ । ठेक्का सम्झौता र किर्ते हस्ताक्षरको विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले आफैंले फाइल मगाएर बुझ्ने काम गरिरहेको बताए । यस्ता किर्ते काम गर्ने ठेकेदारलाई नियमअनुसार कारवाही हुनु पर्ने सोही गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले बताएका छन् । त्यस्ता ठेकेदारलाई कानुनबमोजिम कारवाहीको दायरामा ल्याउनसमेत नगर प्रमुख यादवले माग गरेका छन् । शनिबारदेखि सो क्षेत्रबाट नगरपालिका आफंैले कर्मचारी राखेर अमानतमा नदीजन्य पदार्थ निकासी गर्दै आएको उनले बताए । पुनः अर्को ठेकेदारलाई ठेक्का लगाउनेतर्फमा नगरपालिका रहेको नगर प्रमुख यादवले बताए ।