बारा,१६ माघ / अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैया जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हुँदोरहेछन् भनी सुन्दा अचम्म लाग्छ । तर, यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ ।
कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि अदालतले निज महरालाई पाँच रुपैयाँ दण्डजरिवाना गरेको थियो ।
तर, महरा फरार भएकाले उनलाई फरार अभियुक्तको सूचीमा राखी प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले बताए । अदालतमा कायम रहेका मुद्दा नम्बर १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले बारा प्रहरीले पाँच रुपैया देखि एक हजार रुपैया सम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ । प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । पक्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३२३ दिन कैद सजाय वापत २२ लाख सात हजार ८४४ रुपैया १३ पैसा राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य अभियुक्त आफैं अदालतमा उपस्थित हुन थालेका छन् ।