रौतहट,२५ माघ ।
इँटाभट्टामा जिउँदा मानिसलाई जलाएर कर्तव्य ज्यान गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रौटहटका कांग्रेस नेता मोहमद अफताव आलमको मुद्दामा जिल्लाकै आदेशलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सदर गरिदिएको छ । त्यसैगरी सो मुद्दाको वादी नारायण सिंह राजपुतसहित नेपाल सरकारसमेतले मुद्दाको स्वच्छ सुनुवाई र साक्षी सुरक्षालगायतमा असर पर्ने भन्दै पर्सामा सार्न चाहेको वादी पक्षको मुद्दा भने खारेज भएको छ । मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीका तर्फबाट रौतहटका नारायण सिंह राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाई सार्न उच्च अदालत वीरगन्जमा निवेदन दिएका थिए। त्यसैगरी, प्रतिवादी आलमले पनि रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेर कार्वाही गर्न दिएको निर्णय बदर गरी थुनामा नराखी मुद्दा चलाउन माग गरी उच्च अदालत अस्थायी इजलास वीरगन्जमा नै अर्को निवेदन दिएका थिए ।