सर्लाही,२९ माघ / आलुको राम्रो मुल्य पाएपछि रौतहट र सर्लाहीका किसान खुसी छन् । सर्लाहीको बरहथवा र बागमती नगरपालिकाका किसानले अघिल्लो वर्षको तुलनामा यस वर्ष आलुको राम्रो मूल्य पाएपछि खुसी भएका हुन् । आलु उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बरहथवा र बागमतीका किसानले आलुबाट मनग्य आम्दानी गरेका छन् । अघिल्लो वर्ष आलु उत्पादनबाट राम्रो आम्दानी गर्न नसकेका बरहथवा नगरपालिका–५ का जगलाल महतोले यस वर्ष राम्रो आम्दानी भएको बताए । आलु खरिद गर्न ठेकेदारहरु बारीमै आउने गरेको किसानहरु बताउ“छन् । आलु खेती गर्दै आएका महतोले यस वर्ष १० कठ्ठा क्षेत्रफलमा आलु खेती गरेका छन् । उनले प्रतिकिलो १९ रुपैया“मा खेतबाटै बेचेका छन् । खर्च कटाएर प्रतिकठ्ठा १० देखि १२ हजारसम्म आम्दानी हुने उनले बताए । बागमती–८ का शंकरपुरका जंगली लामाले प्रतिबिगाह तीन लाख रुपैया“सम्म आम्दानी गरेका छन् । गत वर्ष १३ देखि १५ रुपैया“ प्रतिकिलो बिक्री भए पनि यस वर्ष भाउ राम्रो भएका उनले बताए । सरकारबाट बिउबिजन र मलमा अनुदानको व्यवस्था गरिदिए आलुखेतीबाट किसानले अझै लाभ लिन सक्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द रायका अनुसार जिल्लाभर १४ सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती भएको छ । यस वर्ष सर्लाहीमा मात्र तीन लाख ५२ हजार २०० क्विन्टल आलु उत्पादन हुने केन्द्रका प्रमुख रायले बताए । यस क्षेत्रका किसानहरुले लालगुलाव, कुप्रीसिन्दुरे, विविरे र कोमल जातको आलु खेती गर्दै आएका छन् ।