ओम प्रकाश यादव , चैत्र १२ गरुडा । विश्वभरी नै महामारीको रुपमा फैलिएको कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रौतहटको माधवनारायण नगरपालिकाले आजदेखी मास्क तथा सेनिटाईजर वितरण गर्न शुरु गरेको हो । नगर कार्य पालिकाको कार्यालय माधोपुरमा कार्यपालिका स्तरी मंगलवार बसेको बैठकले बुधवारदेखी नगरका प्रत्येक वडामा मास्क, सेनिटाईजर वितरण गर्ने तथा ठाउँ ठाउँमा हात धुनको लागि सावुन पानीको व्यवस्था गर्ने गरेको निर्णय अनुसार नै बुधवारदेखी मास्क तथा सेनिटाईजर वितरण कार्य शुरु गरिएको मेयर विरेन्द्र यादवले जानकारी दिनुभयो । वडा नं ६ माधोपुरमा २ हजार र बाँकी वडाहरुमा १,१ हजारको दरले गरी नगरभरीमा जम्मा १० हजार मास्क तथा ५ सय सेनिटाईजर वितरण गर्न लागिएको उहाँले बताउनुभयो । त्यस्तै कोरोना भाइरसको संक्रमण लागेको अशंका लागेको व्यक्तिलाई राखी उपचार गर्नको लागि नगरको दुई ठाउँमा ५०, ५० बेडको क्वारेन्टाईन कक्ष निर्माण गर्ने मेयर यादवले बताउनुभयो । नगरपालिकाको वडा नं ६ श्री माध्यमिक विद्यालय माधोपुर र श्री माध्यमिक विद्यालय सखुअवामा उक्त क्वारेन्टाईन कक्ष निर्माण गर्ने निर्णय गरिएको तथा चाडै क्वारेन्टाईन निर्माणको कार्य पनि अघि बढाइने मेयर यादवले स्पष्ट पार्नुभयो ।