अशोक पहाडी
रौतहट,१३ चैत ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट जोगाउन रौतहटको चन्द्रनिगाहपुरमा क्वारेन्टाईन संचालनमा ल्याइएको छ । महिला एकेडेमीको लागि एन्फाले निर्माण गरेको सुबिधा सम्पन्न आधुनिक भबन लाई चन्द्रपुर नगरपालिका सहितको चार वटा नगरपालिकाको सहयोगमा अस्थायी क्वारेन्टाईन बनाइएको हो ।
क्वारेन्टाईनमा ६० वटा बेड राखिने छ भने चारैदिशामा सेन्ट्रि पोष्टको निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिकाको २० लाख, गुजरा नगरपालिका, बृन्दाबन नगरपालिका र गडिमाई नगरपालिकाको जनही १० लाखको दरले ५० लाख रुपैयाको बजेटमा सो क्वारेन्टाईन संचालनमा ल्याइएको हो ।
कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न स्थापना गरिएको क्वारेन्टाईनमा आंशकित ब्यक्ति लाई चिकित्सकको निगरानीमा राखिनेछ । भारत संग खुल्ला सिमा जोडिएको रौतहटमा तेस्रो मुलकका अलावा भारत भुमि हुदै नेपाल आएका सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाईन स्थापना गरिएको हो ।
कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापनको लागि जिल्ला सुरक्षा समिति सक्रिय रहदै आएको छ । हरेक स्थानीय तहमा क्वारेन्टाईन निमार्ण गर्नु पर्ने भएपछि पुर्बाधार कमी भएका स्थानीय तहले अर्को स्थानीय तह संग मिलेर क्वारेन्टाईन निर्माण गरेका छन । यस अघि रौतहटको देबाही गोनाही, गौर, ईशनाथ, कटहरिया नगरपालिकाले क्वारेन्टाईन निर्माण गरिसकेका छन ।