ओम प्रकाश यादव
रौतहट, १ बैशाख ।
रौतहटको माधवनारायण नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक दुरी कायम राखी राहत बाँडन शुरु गरेको छ ।
जिल्लामा जम्मा १८ वटा स्थानीय तहहरु रहेका छन तर अहिले सम्म कुनै पनि स्थानीय तह सामाजिक दुरी कामय राखी राहत वितरण गर्न नसकेको अवस्थामा पहिलो पटक माधवनारायण नगरपालिकाले सामाजिक दुरी कायम राखेर राहत वितरण कार्य शुरु गरेको हो ।
एक मिटरको सामाजिक दुरी कायम गरी वडा नं १ दिपहीमा आज सोमवार २ सय अति विपन्न परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख विरेन्द्र यादवले बताउनुभएको छ ।
नगर प्रमुख यादवले आफै बसेर सामाजिक दुरी कायम राख्न लगाई राहत बाँडन लगाउनुभएको थियो ।
प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो नुन र १ किलो दाने तेल वितरण गरिएको उहाँले बताउनुभयो ।
बाँकी १ सय ७५ घरधुरीलाई मंगलवार राहत वितरण गरिने उहाँको भनाई छ ।
सामाजिक दुरी कायम नगरी एकै ठाउँमा सबैजनालाई जम्मा गरेर राहत बाँडदा लकडाउनको उल्लंघन हुने र कोरोना संक्रमणको पनि जोखिम हुने भएकोले यसबाट बच्न आफुले कम्तीमा एक मिटरको दुरीमा राखेर राहत वितरण कार्य थालेको मेयर यादवले तराई एक्सप्रेसलाई बताउनुभयो ।
यो प्रक्रिया अनुसार राहत पाउँने व्यक्तिलाई एक मिटरको दुरीमा उभिएर नाम लेखाउनु पर्ने र त्यसपछि मात्रै राहत बोँकी जानुपर्ने छ ।
कोरोना भाइरस फैलिन नदिन सरकारले लागुगरेको लक डाउनका कारण अति विपन्न परिवारको दैनिकि कष्टकर बनेपछि नगरपालिकाले त्यस्ता परिवारलाई राहत उपलब्ध गराइरहेको छ ।
सामाजिक दुरी कायम रखेर राहत वितरण गरी सराहनिय काम गरेको भन्दै मेयर यादवको सर्वत्र प्रशंसा भइरहेको छ ।