पर्सा,१९ बैशाख । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको घरमा प्रशासनले छापा मारेको छ । वीरगन्ज महानगरपालिका कार्यालयले वडा नं. १४ मा राहत वितरणका लागि पठाएको चामल डल्लो परेको, कुहिएको भेटिएपछि प्रहरीले मेयर विजय कुमार सरावगीको घरमा रहेको गोदाममा छापा मारेको हो । महानगरपालिका कार्यालयले वडा १४ का एक सय २५ जनाका लागि राहत वितरण गर्न ९ सय ५० किलो चामल पठाएको थियो । दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई राहत वितरणका लागी प्राप्त भएको चामल प्याकिङ गर्ने क्रममा चामलको बोराभित्र चामल डल्लो परेको र सडेको अवस्थामा भेटिएको वडाध्यक्ष भरत कुर्मी बताउनुहुन्छ । लक डाउनका बेला विपन्न र गरिब परिवारलाई राहत वितरण गर्नुपर्ने चामल डल्लो परेको, सडेको फेला परेपछि वडाध्यक्ष भरत कुर्मीले राहत वितरणमा रोक लगाएको बताए ।