रुपेन्द्र पटेल

चन्द्रपुर,२६ असार / बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले रौतहट,सर्लाही,बारा र पर्साका किसान हर्षित भएका छन् । लामो खडेरीपश्चात परेको मुसलधारे वर्षाले उखु, मकै, तरकारी बालीलगायतमा निकै राहत पुगेको किसानले बताएका छन् ।
लामो खडेरीका कारण सुकेर सखाप हुने अवस्थामा रहेको उखु बालीलाई ढिलै भए पनि परेको आकासे पानीले निकै राहत पुगेको नेपाल उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
उखु सुकेर सखाप हुने अवस्थामा पुगेको थियो, उनले भने, ढिलै भए पनि परेको आकासे पानीले निकै राहत महसुस भएको छ । त्यस्तै परबल, बोडीलगायत तरकारी बाली समेत खडेरीले खाएर दुःखी बनेका किसानलाई बुधबारको वर्षाले हर्षित बनाएको छ । मंगलबार रातिदेखिनै हल्का भइरहेको वर्षाले बुधबार बिहानबाट भने मुसलधारे रुप धारण गरेको छ । त्यस्तै असार बित्न लाग्दा समेत धान रोपाइ गर्न नपाएका किसानमा मुसलधारे वर्षाले आशा जगाएको छ । खेतमा राखेको ब्याड छिप्पिने तथा सुक्न समेत थालिसकेको अवस्थामा बुधबारबाट मुसलधारे वर्षा भएपछि धान रोपाइ हुनेमा किसान आशावादी बनेको गैडाटारका किसान ज्ञानमान वाईवाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here