सुमन कार्की-

सिर्र सिर्र सिरेटो
अँध्यारो अन्धकार
अल्छे बिहानी तुवाँलोको सिरक भित्र
अझै मुन्टो लुका’र गुटुमुटु बेरिएको थियो।

राजमार्गको सडक र सडकको अलकत्रा
रातभरको तुषारोले टाटेपांग्रे र विरूप देखिएको थियो।

जाडोको निर्दयी चुटाइले
एउटा पनि पात बाँकी नरहेको पातरहित रूख देख्दा
आफ्नो शिरको झर्दै गरेको कपाल र बढ्दै गरेको बुढ्यौलीक‍ो झल्याँस्स एक झझल्को आएको थियो।

विवाह पञ्चमीको उत्सव
भौंतारी रहेको एक ‘पागल’को बर्बराहट
घन्किरहेको सुमधुर गीतको मधुर युगल गुनगुनाहट
झुलुंगे पुलमा हिंड्दाको लयमय थर्थराहट
नजिकिंदो निशाको तरेली र गाजलु परेलीको फरफराहट सँगै
कलिला राता अोठको मन्द मन्द मुस्कुराहट थियो।

ढुंगाको मौन मूर्ति
मौन हेराइ र बसाइ
छरपष्ट छाप्रा र बगरमा फ्यालिएका,
बेवारिस बोतल र चुरोटका ठुटा
बालुवामा कसैले क‍ोरेका अष्टबक्र बुट्टा भित्र
तिम्र‍ो रूप रूपको चित्र मैले पनि
टाढैबाट कुँदेको थिएँ।

बडा हाकिम पुलनिर
रफ्तारले कुदिरहेको ट्रिपरमा
कोचामकोच कोचिएका रक्ताम्य भैंसीहरूको
फुटेर रक्तरंजित नाथ्री देख्दा
चुरिया माइको राता पहेंला पताका जस्तै
रंगिएर तरंगित स्वप्निल मन,
फेरि छियाछिया हुँदै थियो,
कत्ति धेरै चरचर चह्राएको थियो!

क्याफेको कफी र बकैयाको विलिनो चिया
पातलो गोलो काँडेदार सेलरोटी
र सेलरोटीको तातो तेलले
अौंलामा बसेको मधुरो डाम
अस्ताउँदो सूर्यको किरणले
भित्तामा बना’को डिजाइनदार डोब सँगै
हावामा चमेलीको सुवाष छताछुल्ल पोखिएक‍ो थियो।

हत्केलामा खलखल उम्रिएको पसीना
र, पसीनाको कणकण कनिकामा
न्यानोपनको रापिलो राप थिय‍ो
आफ्नोपनको चर्को तापिलो ताप थियो।

कबिताकलिलो कमलो मुटु
मायाको भुङ्ग्रोले भुलभुल उम्लिएर
शायद तात्नु सम्म तातिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here