ओम प्रकाश यादव,
गरुडा २०पुस ।
चिनी मिल सञ्चालन नहुंदा रौतहटका उखु किसान आधा सस्तो मूल्यमै सख्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका छन ।
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल यस वर्ष सञ्चालन नहुंदा यहांका किसानहरु सरकारले तोकेको मूल्यभन्दा आधा मूल्यमा नै सख्खर उद्योगमा उखु बिक्री गर्न बाध्य भएका हुन । सरकारले यस वर्षको लागि उखुको मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेको छ ,तर श्रीराम सुगर मिल सञ्चालन नहुंदा बाध्य भएर रौतहटेली किसानहरु सख्खर उद्योगलाई प्रति क्विन्टल २५० देखी ३०० रुपैयामा नै बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ रहेको छ ।
जिल्लाको सुन्दरपुर, कटहरिया, विजयपुर लगाएतका ठाउंमा सञ्चालित सख्खर उद्योगलाई किसानहरु उखु बिक्री गर्न बाध्य भएका हुन ।
सख्खर उद्योगले उखु खरिद गर्ने वित्तिकै भुक्तानी दिने गरेकोले किसानहरु मिलको विकल्पमा सख्खर उद्योगलाई नै उखु बेच्न थालेको देखिएको छ ।
चिनी मिल सञ्चालन नहुँदा सख्खर उद्योगलाई नै सस्तोमा उखु बेच्न बाध्य भएको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका किसान राम कल्याण यादवले बताए ।
श्रीराम सुगर मिल अघिलो वर्षहरुको गरी किसानको ४२ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी राखेको छ ।
उद्योगी हितेश गोल्छा किसानको करोडौ रकम भुक्तानी गर्न बाँकी राखेको र उल्टै मिल पनि यस वर्ष सञ्चालन नगर्दा आधा मूल्यमै उखु बेच्नुपर्दा आफुहरु दोहोरो मारमा परेको किसानहरुको गुनासो छ ।श्रीराम सुगर मिलको बदमासी र लापरवाहीका कारण जिल्लाका हजारौ उखु किसान आधी जति भाउमा उखु बेच्न बाध्य भएको समाजवादी पार्टीका युवा नेता राजकुमार दासले बताए । मिल मुनाफामा रहे पनि घाटामा गएको नाटक गरेर उद्योगपति गोल्छाले हजारौ किसानसंग खेलवाड गरेको उहांले आरोप लगाए । त्यस्तै कतिपय किसानले उखु खरिद गर्ने काटामा पनि उखु बेच्न थालेका छन । केही किसान प्रति क्विन्टल ४ सय १७ रुपैयामा काटामा उखु बिक्री गरिरहेका छन । सरकारले तोकेको भन्दा १ सय १९ रुपैया घाटा सही किसानहरु प्रति क्विन्टल ४ सय १७ रुपैयामा काटामा उखु बेच्न बाध्य भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here