जनकपुर,२२ पुस / प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा अप्रत्यासित दृश्य देखियो । त्यो थियो सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त जुलुस । जुन जुलुस हेर्ने र सुन्नेलाई अचम्मित तुल्यायो । किनकि केही दिनअघिसम्म मधेसविरोधी पार्टी भन्दै नेकपाको नामसमेत सुन्न नचाहने राजपाका नेता–कार्यकर्ता उसैका नेता–कार्यकर्तासंग कांधमा कांध मिलाउदै आफ्नो पार्टीको झण्डासहित जनकपुरमा नारा जुलुस गर्दै थिए ।
सम्भवतः मधेसको इतिहासमै नेकपा र राजपाको पहिलो मिलन जुलुस थियो । आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि नेकपा र राजपाले २ बुंदे सहमति गरेका छन् । प्रदेश २ मा ४ पदका लागि हुने राष्ट्रियसभा चुनावका लागि यी दुई दलले २–२ पद भागबन्डा गरी तालमेल गरेका छन् ।
त्यही सहमतिअनुसार उनीहरूले आइतबार संयुक्त रूपमा जुलुस प्रदर्शन गर्दै जनकपुरस्थित निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका हुन् । त्यति मात्र होइन, निर्वाचन कार्यालयमा नेकपा र राजपाका नेताहरूले सामूहिक फोटो सेसनसमेत गरे। उनीहरूबीच देखिएको यस्तो मिलनले यतिबेला प्रदेश २ को राजनीति तरंगित भएको छ । यसले प्रदेश २ सरकारलाई संकट पर्ने संकेत गरेको छ । अर्थात् राजपाको समर्थनमा रहेको समाजवादी पार्टीका संसदीय दलका नेता लालबाबु राउत नेतृत्वको सरकार ढल्ने सम्भावना बढाएको छ । यससंगै अब प्रदेश २ मा नेकपा–राजपा गठबन्धनमा सरकार बन्ने चर्चासमेत सुरु भएको छ । उसो त गएको पुस २ गते नेकपा र राजपाले प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका लागि गरेको सहमतिदेखि नै लालबाबु राउत नेतृत्वको सरकार ढल्ने चर्चा सुरु भइसकेको हो । तर आगामी फागुन ३ गतेपछि प्रदेश २ सरकार ढल्ने र त्यसपछि राजपा नेपालको समर्थनमा नेकपाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई जनकपुरमा यी दुई दलको संयुक्त जुलुसले झनै प्रबल बनाएको हो ।
केन्द्रीय सरकारको नेतृत्व गरिहेको नेकपाले दुईबुँदे सहमति गर्दै राजपा नेपालसँग नजिकिएपछि नैतिक दबाबमा परेको समाजवादी पार्टी सरकारबाट बाहिरिसकेको छ । यसपछि प्रदेश २ मा पनि सत्ता घटक समाजवादी पार्टी र राजपा नेपालको सम्बन्ध चिसिँदै गएको छ ।
तर राजपा नेपालका नेताहरू भने राष्ट्रियसभामा आफ्ना २ सिट बचाउन नेकपासँग सहमति गरेको तर्क गर्दै प्रदेश २ मा सरकार ढल्ने र नेकपा नेतृत्वमा बन्ने कुनै सम्भावना नरहेको दाबी गर्छन् । राजपा नेपाल प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राष्ट्रियसभा चुनावका लागि मात्र नेकपासंग गठबन्धन गरेको दाबी गरे, तर थप केही बोलेनन् ।
तर नेकपा र राजपाबीच भएको सहमतिको दोस्रो बुंदामा हामी दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामायिक विषयमा नियमित रूपमा छलफल गर्ने र सहकार्य प्रक्रियालाई अघि बढाउने उल्लेख हुनुले राजपाको आगामी मनसायबारे धेरै कुरा प्रस्ट पार्छ ।
यसै सन्दर्भमा राजनीतिक विश्लेषकहरूले मधेसको कोरस्थल जनकपुजस्तो ठाउमा नेकपा र राजपाको संयुक्त जुलुस हुनुलाई अर्थपूर्ण ठानेका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ एकअर्काको नामै सुन्न नचाहने दुई पार्टीले जनकपुरजस्तो ठाउमा गरेको संयुक्त जुलुस प्रदेश २ सरकार परिवर्तनको संकेत मान्छन् ।
जनकपुरमा सूर्य छाप र छाता छाप दुवै पार्टीको उत्साहजनक संयुक्त जुलुसले प्रदेश २ को सरकार परिवर्तनको संकेत गरेको छ ।
नेकपा र राजपा जुन दिशासमा अघि बढिरहेका छन, त्यसले पनि प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना प्रबल छ, उनले भने, सुरुमा राजपा नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जति आक्रामक हुनुहुन्थ्यो, २०७४ को चुनावयता हुनुहुन्न ।
महतो धनुषा क्षेत्र नं ३ मा उम्मेदवारी दिएकै बेलादेखि ओलीप्रति लचक हुनुहुन्छ । जितेपछि राजपाले संघीय सरकारलाई समर्थन दियो। पछि समर्थन फिर्ता लियो । फेरि राजपाले २ बुँदे सहमति गरेर राष्ट्रियसभाको चुनावमा तालमेल गर्याे ।
डाक्टर लाभले थपे, यति हुंदाहुंदै जनकपुरजस्तो ठाउँमा नेकपा र राजपा दुवै दलले संयुक्त जुलुस नै गर्याे ।
यी घटनाक्रमले राजपा पहिलेजस्तो रहेन । उसले सेफल्यान्डिङ खोजिरहेको छ ।
राजपाले पुनः २–३ बुंदे सहमति गरेर संघीय सकारमा जान सक्छ र प्रदेश २ मा पनि सरकार परिवर्तन हुन सक्छ भन्ने कुरा बुझ्न सकिन्छ । नेकपाका नेताहरू भने राजपा नेपाल केन्द्र सरकारमा सहभागी हुने र अगामी फागुनपछि प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here