गौर,२३ पुस / बागमती नदीको ढुंगा, गिटी र बालुवालाई हत्याउन खोज्ने एक व्यावसायी प्रहरीको नियन्त्रणमा पुगेका छन् । बैंकको नक्कली कागजात तयार पारी नगरपालिकामा पेश गरेर ठेक्काको सम्झौता गर्न खोज्ने व्यावसायी अन्ततः प्रहरीको नियन्त्रणमा परेका हुन् । रौतहटको गढीमाई नगरपालिकाले ठेक्कामा लगाउन खोजेको बागमती नदीको ढुंगा, गिटी र बालुवाको ठेक्का सकार गरेको तर नपामा रकम जम्मा गर्न आनाकानी गर्ने भाग्यमानी कन्स्ट्रक्सन प्रालि काठमाडौँका संचालक रामानन्द साह पक्राउ परेका हुन् । गौर नपा ३ स्थायी घर भएका साहलाई इलाका प्रहरी कार्यालय गरुडाले राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको एक करोड साठी लाख रुपैयाको कीर्ते बैंक ग्यारेन्टी पेश गरेको अभियोगमा पक्राउ परेका हुन् ।
गत २१ मा बागमती नदीको विभिन्न ठाउँको ढुंगा, गिटी तथा बालुवाको ठेक्का ५ करोड तीन लाख रुपैयामा भाग्यमानीले सकार गरेको थियो। ठेक्का सकार गरेको भए पनि नपासित सम्झौता नै नगरी असोज १ देखि ढुंगा, गिटी र बालुवाको उत्खनन सुरु गरेको र अरुले उठाएर ल्याएको भए पनि कर असुल्न सुरु गरेको थियो । सम्झौता नगरी नदीजन्य पदार्थ संकलन नगर्न र कर नअसुल्न नगरपालिकाले ताकेता गरे पनि नपाकै केही जनप्रतिनिधि र केही कर्मचारीको मिलोमतोमा नदीको दोहन गर्दै आएको भाग्यमानीलाई कारबाही गर्न कार्यालय प्रमुख सुभास ठाकुरले अग्रसरता लिएपछि ठेक्का सकार गर्ने कम्पनी भाग्यमानी कन्स्ट्रक्सनलाई अप्ठ्यारो परेको थियो ।
यसै क्रममा नगरपालिका कार्यालयले तत्काल सम्झौता नगरे कानुनी प्रक्रिया अपनाउन बाध्य हुने चेतावनी दिएपछि एक करोड ६० बैंक ग्यारेन्टी भाग्यमानीले पेश गरेको थियो। भाग्यमानीले पेश गरेको कागजपत्रमा शंका लागेर नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले बैंकमा सम्पर्क गर्दा भाग्यमानीले बिगतको हप्तामा कुनै बैंक ग्यारेन्टीको कागजपत्र नबनाएको जानकारी गराएको थियो।
रावा बैंक गौरका शाखा प्रबन्धक सुमितकुमार ठाकुरले बैंक ग्यारेन्टी कीर्ते भएको जानकारी दिएपछि नपाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडालाई पत्राचार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here