बारा, २१ माघ । बारामा १० वर्षीय बालक अपहरण गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १४ गण्डक बहुअरीका रमेश राम र बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोकाका राजु राम छन्। गत शुक्रबार आफू पढ्ने स्कुलमा सरस्वती पूजाको विसर्जन गर्न गएका एक बालकलाई उनीहरूले अपहरण गरेका थिए। घरमा नआएपछि अपहरणमा परेको हुनसक्ने आशङ्‌का गर्दै बालकका आफन्तले इलाका प्रहरी कार्यालय प्रसौनी बारामा जानकारी गराएका थिए। त्यसपछि प्रसौनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलैया उपमहानगरपालिका २४ श्रीपुरस्थित सडकबाट आइतबार फेला पारी उद्धार गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये रमेशले अपहरणको मुख्य योजनाकार राजुलाई बुझाउन लैजाँदै गरेको अवस्थामा फेला पारी बालकको उद्धार गरिएको हो। नातामा राजु रमेशको मामा पर्ने खुलेको प्रहरीले जनाएको छ। मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपछि रमेशले अपहरण गरेको खुलेको छ। उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।