सर्लाही २ वैशाख ।
सर्लाहीको ईश्वरपुरमा राहत वितरणमा विवाद भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मंगलबार ईश्वरपुर नगरपालिका– १५ स्थित वडा कार्यालयमा राहत लिन पुगेका स्थानीय निष्पक्ष ढंगले राहत वितरण नगरेको भन्दै नाराबाजी र ढुंगामुढामा उत्रिएका थिए । नाराबाजीसहित ढुंगामुढामा उत्रिएका उनीहरूलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । राहत लिन वडा कार्यालयपरिसरमा पुगेका स्थानीयले वडाध्यक्ष कपिलदेव चौधरीले वास्तविक विपन्न र खान नपाएकालाई उपेक्षा गरेर राहत बाँडेको आरोप लगाएका छन् । एक सय ५० को संख्यामा रहेका उनीहरूले एक्कासि होहल्ला गर्दै ढुंगामुढा गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुपरेको दाबी गरेको छ । उनीहरूले वडाध्यक्ष चौधरीविरुद्व नाराबाजीसमेत गरेका थिए । भीड नियन्त्रणको क्रममा इलाका प्रहरी कार्यालय केशरगन्जका दुई प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी सहायक निरीक्षक रामवीरेन्द्र यादव र प्रहरी जवान भागेश्वर यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष चौधरीले भने राहत वितरणमा कुनै किसिमको पक्षपात नगरेको बताएका छन् । ‘वडाका सबै लाभग्राहीको नाम संकलन गरेका छौँ,’ उनले भने, ‘कसैलाई छुटाएका छैनौँ, तर एक–दुईजनाले गलत आरोप लगाएका हुन् ।’ वडामा रहेको पाँच सय ३४ जनाका लागि राहतको तयारी गरिएको उनको भनाइ छ ।