बारा २३ बैशाख । बाराको सिमरास्थित कोरोना विशेष अस्थायी अस्पताललाई स्तरोन्नति गरी प्रदेशस्तरीय क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालन गर्ने निर्णय भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा बाराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिबीच सोमबार बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो । हाल ५० शैयाको क्वारेन्टाइन र २६ शैयाको आइसोलेसन सञ्चालनमा रहेको बाराको यसलाई स्तरोन्नति गरी ४ सय शैयाको बनाइने निर्णय भएको छ । त्यस्तै पथलैयास्थित क्षेत्रीय तालिम केन्द्रमा १ सय शैयाको आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि भएको छ । निर्णय कार्यन्वयनका लागि प्रदेश २ सामाजिक विकास मन्त्रालयलाई सिफारिस पठाउने र क्वारेन्टाइन र आइसोलेसन सञ्चालनका लागि आवश्यक भौतिक संरचना, प्रयोगशाला, स्वाथ्यकर्मी, औषधि तथा परीक्षण तथा उपचार साम्रगी उपलब्ध गराउन प्रदेश सरकारलाई लेखी पठाउने निर्णय भएको छ ।