सर्लाही २५ बैशाख । छिमेकी मुलुक भारतबाट अवैध रुपमा ट्रकमा लुकाएर नेपाल ल्याउँदै गरेको १७ लाख ९० हजार रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । धान बोकेर आइरहेको भारतीय ट्रकलाई मलंगवा नगरपालिका २ स्थित सर्लाही भन्सार कार्यालय नजिकैको चेकपोष्टमा बिआर ३०जिए २४५८ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस क्याम्प मलंगवाको टोलीले रोकेर चेक जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको सशस्त्र प्रहरी निरीक्षक संजित सिंहले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक सिंहका अनुसार भारतको बिहार राज्यको सितामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल आउँदै गरेको ट्रकको क्याविनमा लुकाइ छिपाइ ल्याइएको १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद भएको हो । ट्रकका चालक राम ललित मण्डल र सह चालक निरज कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ट्रकमा धान लिएर सर्लाहीको ईश्वरपुर नगरपालिका जान लागेको सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाले जनाएको छ । बरामद रकम हुण्डी कारोवारीको हुन सक्ने सशस्त्र प्रहरीको अनुमान छ। बरामद रकम सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।