रौतहट २९ बैशाख ।
लकडाउनका कारण प्रभावित कृषिक्षेत्रलाई उकास्न प्रदेश २ सरकारले राहत तथा अनुदान दिने तयारी अगाडि बढाएको छ । प्रदेश सरकारले किसानलाई राहत स्वरूप अनुदान र बैंक कर्जा दिने प्रक्रिया अगाडि बढाएको भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन् । मन्त्री यादवका अनुसार लकडाउनका कारण समस्यामा परेका किसानलाई कृषि ऋणमा ४ महीनाको ब्याज अनुदान, कुखुरा र हाँस पालकका साथै दूध उत्पादन÷संकलन गर्नेदेखि तरकारी खेती गर्ने किसान समेतलाई क्षतिपूर्ति स्वरूप राहत दिने निर्णय गरिएको छ । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले कृषिक्षेत्र प्रभावित भएका भन्दै प्रदेश सरकारले कृषकका लागि राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन निर्दे्शिका पनि पारित गरेको मन्त्री यादवले जानकारी दिए । प्रदेश सरकारले ३६ करोड रुपैयाँ निकासा गरेर प्रदेशका विभिन्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत राहत वितरण गर्ने बताइएको छ । राज्यमन्त्री यादवले चालू आर्थिक वर्षको जेठदेखि असारभित्र सबै लक्षित किसानलाई राहत तथा अनुदान वितरण गरिसक्ने दाबी गरेका हुन् । प्रदेशका किसानले कृषि कार्यका लागि देशको बैंक तथा वित्तीय संस्थाबाट वा कुनै पनि प्रदेशबाट ऋण कर्जा लिएको भए पनि कर्जा प्रदेशको भूमिमा प्रयोग भएको हुनुपर्ने शर्त रहेको उनले बताए । मुख्यमन्त्री किसान उत्थान, कृषि, पशुपन्छी तथा मत्स्य विकास कोष लगायत शीर्षकको रकम रकमान्तर गरिएको छ । रकमान्तर गर्न मन्त्रिस्तरीय निर्णयसहित आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सैद्धान्तिक सहमति र स्वीकृति लिएर प्रदेशका आठ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । एक जिल्लामा ३ करोड ७५ लाख रुपैयाँको दरले रकम निकासा गरिएको छ । मन्त्रालयले पारित गरेको राहत तथा अनुदान प्रवाह निर्दे्शिका अनुसार कृषिका लागि प्रदेशका किसानले लिएको ऋणको सन्दर्भमा प्रदेश सरकारले २०७६ चैतदेखि २०७७ असार महीनासम्मको ब्याज अनुदानमा दिइनेछ । साना किसान तथा कृषिफार्मले कृषि प्रयोजनका लागि सहकारी, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त संस्थामार्फत लिएको ऋणको हकमा प्रदेश सरकारले ४ महीनाको ब्याज अनुदान स्वरूप दिन लागेको हो । कृषि कार्यमा संलग्न भई जीविकोपार्जन गर्दै आएका कृषि कार्यमा प्रयोग भएको, स्थानीय तहको सिफारिश र सम्बन्धित बैंकमार्फत प्रमाणीकरण गराएर कागज ल्याउनुपर्ने हुन्छ । मलखाद, बिउबीजन, भुरा, चल्ला, उत्पादन सामग्री सिँचाइ लगायत प्रमुख उत्पादन सामग्री जुटाउन तथा उन्नत कृषि उत्पादन प्रविधि प्रयोग गरेका ऋणीलाई मन्त्रालयले ब्याज अनुदान बापतको रकम बैंकमार्फत भुक्तानी गर्ने व्यवस्था रहेको छ ।