जनकपुर, ३१ वैशाख । प्रदेश २ सरकारले प्रदेशमा लकडाउन थप कडाइ गर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण तीव्र फैलिएपछि यस्तो निर्णय गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सिमामा थप कडाई गर्ने, सिमापारिको ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचार–प्रसारलाई तिव्र बनाउने सहितको निर्णय गरेको छ । त्यस्तै, बैठकले सीमामा अलपत्र परेका नेपालीलाई ल्याउन संघीय सरकारलाई कार्यविधि तयार पारिदिन अनुरोध गरेको छ । थप क्वारेन्टाइन बनाउन तयारी गरिएको पनि प्रदेश सरकारले जनाएको छ । यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ ।