हरिपूर्वा, ३१ वैशाख । सर्लाही जिल्लामा अर्का एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमित दुईजना पुगेका छन् । मंगलबार जिल्लाको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।‘पहिला जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो’, प्रजिअ जिसीले भने, ‘टेकुमा पठाइएको स्वाब परीक्षण भने पोजेटिभ आएको छ ।’ प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायत सुरक्षा अधिकारी एवं स्वास्थ्यकर्मीहरूको टोली धनकौल गाउँ पुगेर उनलाई जनकपुर पठाएका छन् ।
मानसिक बिरामी एक जनामा कोरोनाको संक्रमण देखिएको जिसीले बताए ।