वीरगञ्ज १ जेठ । वीरगञ्जस्थित नारायणी अस्पताल कोरोना संक्रमितले भरिएपछि नअटेका १६ जनालाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमी आइसोलेसन वार्डमा राखिएको छ । नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति विद्यालयको आइसोलेसन कक्षमा सारिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरु घरमै बसेका थिए । बुधबार राति थपिएका ३ जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उहाँले बताउनुभयो । अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो । नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here