ओम प्रकाश यादव
गरुडा ४, बैशाख । रौतहटमा एकै दिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा अब कोरोना भाइरस संक्रमितको संख्या २९१ पुगेको छ भने रौतहटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहटका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताउनुभएको छ । मन्त्रालयका सह–प्रवक्ता डा। अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् । राजपुर नगरपालिकाका संक्रमितहरु वडा नं ९ बैरिया स्थित क्वारेन्टाईनमा बसिरहेका छन भने इशनाथ नगरपालिकाका संक्रमितहरु वडा नं ३ औरैया स्थित क्वारेन्टाईनमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । दुवै नगरपालिकाका दशैजना संक्रमितहरु लकडाउनकै बीचमा चोर बाटो हुँदै ५ दिन अघि मात्रै भारतबाट फर्किएका थिए । उनिहरु भारतबाट फर्केपनि परिवारको सम्पर्कमा नपुग्दै पक्राउ परेर क्वारेन्टाईन पुगेका थिए । राजपुर नगरपालिकाका मेयर शेख वकिलका अनुसार संक्रमित सातैजना भारतको मुम्बई शहरमा मजदुरको काम गर्ने उनिहरु ५ दिन अघि मात्रै चोरबाटो हुँदै नेपाल फर्केका थिए । नेपाल फर्केका उनिहरुलाई बोर्डरमै पक्राउ गरि वडा नं ७ स्थित बैरिया क्वारेन्टाईनमा पठाईएको थियो । क्वारेन्टाईनमा बसिरहेका उनिहरुको तिन दिन अघि मात्रै स्वाब संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा सातै जनाको रिपोर्ट पोजेटिभ आएको मेयर शेख वकिलले बताउनुभयो । त्यस्तै इशनाथ नगरपालिकाका संक्रमित हरु पनि भारतबाट नै चोर बाटो भएर नेपाल आएको खुलेको छ । इशनाथ नगरपालिकाका मेयर संतोश मेहताका अनुसार तिनै जना दिल्लीको एक ब्याग कम्पनीमा काम गर्दै थिए तर कोरोना भाइरसका कारण भारतमा लकडाउन भएसँगै कम्पनी बन्द भएपछि काम पनि बन्द भएकोले उनिहरु नेपाल फर्कने सोच बनाएर त्याहाबाट पैदल नै हिडेका थिए । नेपालमा पनि लकडाउनका कारण नेपाल भारतका सम्पुर्ण सिमा नाकाहरु बन्द रहेको अवस्थामा उनिहरु केहि दिन अघि मात्रै चोर बाटो भएर नेपाल छिरेका थिए । दिल्लीबाट अबैध बाटो भएर केहि मानिस नेपाल छिरेको जानकारी प्राप्त भएपछि मेयर मेहताको अगुवाईमा तुरुन्त उनिहरुलाई पक्राउ गरि औरैया क्वारेन्टाईनमा पठाइएको थियो । क्वारेन्टाईनमा बसिरहेका सबैजनाको तिन अघि मात्रै स्वाब संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा तिन जनाको रिपोर्ट पोजेटिभ आएको मेयर मेहताले बताउनुभएको छ । यता रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना संक्रमण पुष्टि भएका दशैजनाको अवस्था अहिले सामान्य रहेको र उनिहरुलाई उपचारको लागि बाहिर पठाउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । यस जिल्लामा यसभन्दा अघि पनि ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइरसकेको छ ।