ओम प्रकाश यादव
रौतहट,५ जेठ । जिल्लामा सोमवार फेरी एक महिला र सात पुरुष गरी ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
इशनाथ नगरपालिकाका मेयर संतोश मेहताका अनुसार भारतको कानपुरबाट फर्केलगत्तै सातै जनालारुई सिधै क्वारेन्टाइनमा पठाइएको थियो ।
त्यस्तै इशनाथ नगरपालिकाका संक्रमितहरुको गत शुक्रबार स्वाबको नमुना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको थियो ।
यसअघि हिजो मात्रै रौतहटको इशनाथ र राजपुर नगरपालिकामा गरी १० जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनिहरु पनि ५ दिन अघि मात्रै भारतबाट फर्केको खुलेको थियो ।
योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या २१ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमित फेला परेका थिए ।
संक्रमितहरुको जिल्लामै उपचार गर्ने तयारी भइरहेको बताईएको छ ।