गरुडा, १४ जेठ । रौतहटमा बुधवार फेरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, इशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । ३५ जना माध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहि गोनाही नगरपालिकामा २, कटहरिया नगरपालिकामा २ र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभएको छ । संक्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टीनमा बसिरहेका छन । संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केहि दिन अघि भारतबाट आएर क्वारेन्टाईनमा बसेका ११ सय १२ जनाको स्वाब संकलन गरी परिक्षण्का लागि टेकु अस्पताल काठमाडौ पठाईएकोमा बुधवार ३५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय प्रमुख कृष्ण साहले बताउनुभयो । यस अघि मंगलवारर मात्रै विभिन्न नगरपालिकामा गरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै रौतहटमा संक्रमित हुनेको संख्या एक सय पाँच पुगेको छ । जिल्लामा ३५ जना संक्रमित फेला परेको सिडियो घिमिरेले पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले यसबारे अझै केहि पनि भनेको छैन । संक्रमितको संख्या बढ्दै गएपनि जिल्लामा आइसोलेसन बेडको भने अभाव छ । केही पालिकाहरुले संयुक्त लगानीमा आइसोलेसन बनाउन सुरुगरे पनि त्यसको निर्माण कार्य अझै सकिएको छैन । जिल्लामा हाल गौर नर्सिङ्ग क्याम्पसको आइसोलेसनमा १८ जना र राजपुर स्वास्थ्य चौकीको आइसोलेसनमा २६ जनाको उपचार भइरहेको छ ।