बृन्दावन, १८ जेठ ।
रौतहटको बृन्दाबन नगरपालिकाका नगरप्रमुख रामस्नेही राय यादवले पीसीआर टेस्टको दायरा बढाउन माग गरेका छन् । कोरोना महामारीमा प्रदेश सरकार तथा संघीय सरकारले खासै सहयोग नगरेको बताउँदै उनले नगरका जनतालाई कोरोना महामारीबाट बचाउन भरमग्दुर प्रयास गरिरहेको बताए । नगरपालिकाले भएभरको जनशक्ति तथा बजेट परिचालन गरेको भन्दै उनले पीसीआर टेस्टको दायरा बढाउनु मुख्य आवश्यकता रहेको बताए । नेपालमा कोरोना देखा परेपछिको अवस्थामा रौतहटका चन्द्रपुर गुजरा, वृन्दाबन नगरपालिका र गढीमाइ नगरपालिले संयुक्त रूपमा लगानी गरेर शेरबहादुर दर्लामी फूटबल मैदान चन्द्रपुरमा क्वारेन्टाइन निर्माण गरेका थिए । नगर क्षेत्रमा कोरोना संक्रमितको चाप बढेपछि अहिले वृन्दाबन नगरपालिकाले आफ्नै नगर क्षेत्रभित्र ६ स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।

कुल ६२५ बेड क्षमता भएको क्वारेन्टाइन जिल्लाकै सर्वा्धिक सुबिधासम्पन्न रहेको स्वास्थ्य संयोजक रामनरेश यादवले दाबी गरेका छन् । हाल वृन्दाबन नगरपालिकाको क्वारेन्टाइनमा १७२ जना छन् । प्रत्येक क्वारेन्टाइनमा ६ जनाका दरले स्वास्थ्यकर्मी खटाइएको तथा स्वास्थ्यकर्मीलाई पीपीई सेट, मास्क, स्यानिटाइजरको व्यवस्थासँगै तलवको ६० प्रतिशत भत्ता र खाजाको व्यवस्था गरिएको संयोजक यादवको भनाइ छ । खाजा भत्तावापत दैनिक रू. २५० दिने गरिएको उनले बताए ।संक्रमितको उपचारका लागि अहिले रौतहटको ४ स्थानीय तह चन्द्रपुर, गुजरा, बृन्दावन र गढीमाइ नगरपालिकाले संयुक्त रूपमा चन्द्रपुरमा आइसोलेशन निर्माण गरिरहेको नगर प्रमुख यादवले जनाएका छन् । वृन्दाबन नगरपालिकाको क्वारेन्टाइनमा रहेका मध्ये २६ जनाको बिहीवार स्वाव परीक्षण भए पनि रिपोर्ट आउँन नसकेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here