अशोक पहाडी
रौतहट,१८ जेठ । जिल्लाका नदि उत्खननका कारण नदि नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउका बाटो भत्कन थालेको स्थानीयले बताएकाछन् ।
जिल्लानको चन्द्रपुर नगरपालिकाका बिभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनियपनि ती नदीजन्य पदार्थ गाउ गाउमा खुलेका क्रसरमा जाने गरेको स्थानीयले बताएकाछन् ।
चन्द्रपुर नगरपालिका वाडनं ८ को अल्टोकी नजिकै रहेको क्रसरमा नदीजन्य पदार्थ लैजाने टिफरका कारण बाटो भत्केर स्थानीयलाई आवत जावत गर्ननै समस्या भएको स्थानीय युवा तथा नेपाली काग्रेस जिल्ला समिति सदस्य सुमन गौतमले बताए ।
नदीजन्य पदार्थ बोक्ने टिफरका कारण चन्द्रपुर नगरपालिकाका बिभिन्न सडक भत्केर हिडनै नसक्ने अवस्था रहेको चन्द्रनिगाहपुरका युवा रबीराना मगरले बताए ।
खोला अनुगमन नहुदा तथा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तिब्रता पाएको छ ।
खोलाको बहाव जथाभावी हुनेगरी असाध्यै लापरवाही ढंगले उत्खनन हुदा समेत सम्बन्धीत निकायले त्यसतर्फ ध्यान नदिएको जंगलसहियाका स्थानीय युवा टिका किशोर चौधरीले बताए ।
चन्द्रपुर नगरपालिकाको चादी खोलामा वातावरणीय प्रभाव मूल्यांकनविपरीत जथाभावी खोला ‘च्यानलाईजेसन’ हुदा समेत सम्बन्धीत निकायले वास्ता नगरेको गैडाटारका स्थानीय बासिन्दाले बताएकाछन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकदारको मनोबल बढ्दै गएको हो ।
ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण चन्द्रपुर नगरपालिकासँग पनि छैन ।
