गौर,२१ जेठ । रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकाको दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
केही दिन अघि भारतको दिल्लीबाट आएका वडा २ को एक दम्पतीको दुईजना जुम्ल्याहा बालिका र सुत्केरी महिला पनि कोरोना भाइरसबाट संक्रमित पुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले बताएका छन् । परिवारका तिनजना संक्रमित भएपनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ रहेको संयोजक खानले जानकारी दिए ।
रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइरहेको र तिनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए ।
कोरोना भाइरस संक्रमितको मामलामा ईशनाथ दोस्रो स्थानमा रहेको छ । ईशनाथ नगरक्षेत्र अन्तरगत ६८ जना संक्रमित भेटिएका छन् ।
जिल्लामै पहिलो संक्रमित मदर्सा टोलका १९ बर्षिय युवा नारायणी अस्पताल बिरगंजबाट कोरोना जितेर आइसकेका छन् ।
बा“की ६७ जना संक्रमितको प्रहरी विद्यालय र गौरस्थित नर्सिङ क्याम्पसमा निर्मित आइसोलेसनमा उपचार भइरहेको नगर प्रमुख सन्तोष मेहताले जानकारी दिएका छन् ।
संक्रमित सबैजना लकडाउनको अवधिमा भारतको विभिन्न सहरबाट आएका थिए । ईशनाथ नगरक्षेत्र अन्तरगतको विभिन्न क्वारेन्टिनमा हाल एकहजार नौसय २४ जना रहेका छन् । शंंकास्पदको पिसिआर रिपोर्ट ढिलो आउने गरेको कारण ठूलो जोखिम भएको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here