गौर,२१ जेठ / कोरोना महामारीबाट शिक्षाक्षेत्र सबैभन्दा प्रभावित भएको पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
लाखौँ विद्यार्थी विद्यालय जाने गरेको, निश्चित कार्य हरेक दिन गरिरहेको तथा हरेक दिनको पढाइको निश्चित कार्यक्रम हुने गरेको अवस्थामा कोरोना महामारीले शिक्षालयहरु बन्द भइदिँदा अत्यधिक प्रभाव परेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटद्वारा जूम क्लाउड मिटिङ एपबाट सञ्चालित एक महिने अनलाइन शिक्षक प्रशिक्षण तालिमको समापन गर्दै पूर्वप्रम नेपालले शिक्षामा नयाँ विधि र प्रविधिको आवश्यकता रहेको पनि बताएका छन् ।
कोभिड १९ ले महामारीको रुप लिइसकेको भए पनि आत्तिनुपर्ने अवस्था नभएको तर गम्भीर सतर्कता आवश्यक रहेको उल्लेख गर्दै पूर्वप्रम नेपालले वर्तमान अवस्थामा शिक्षकको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारेका छन् ।
महामारीले गर्दा देशको अर्थतन्त्रमा व्यापक प्रभाव परेको भए पनि राज्यले शिक्षाको सम्वेदनशीलतालाई विचार गर्दै स्वास्थ्यपछि शिक्षालाई प्राथमिकता दिएको बताउँदै पूर्वप्रम नेपालले सबैभन्दा बढी घाटा पेट्रोलियम पदार्थमा भइरहेकोले बिजुलीको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
पूर्वप्रम नेपालले नागरिकमा राष्ट्रियताको भावना अभिवृद्धि गर्नुपर्ने र विदेश सम्बन्ध पनि सुमधुर बनाउनुपर्ने आवश्यकता रहेको पनि स्पष्ट पारेका छन् ।
कोरोनाले रौतहट अत्यधिक प्रभावित जिल्लाहरुमा पर्ने भएकोले रौतहटमै पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन् । रौतहटमा मंगलवारसम्म तीन सयभन्दा कोरोना संक्रमित पुष्टि भइसकेको छ । संगठनका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद सिंहको सभापतित्वमा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटबाट शिक्षाक्षेत्रको अपेक्षा पूरा हुन नसकेको आरोप लगाएका छन् । अध्यक्ष थापाले सामुदायिक विद्यालयलाई निजी विद्यालयको जिम्मामा स्वामित्व हस्तान्तरण गर्ने कुराले शिक्षाजगतलाई मर्माहत तुल्याएको बताएका छन् ।